• ६ चैत २०८०, मङ्गलबार

देवशमशेर प्रतिष्ठानद्वारा विभिन्न व्यक्तित्व पुरस्कृत

blog

प्रतिष्ठानका कोषाध्यक्ष हिमालयशमशेर जवरा सम्पादक गौतमलाई पुरस्कृत गर्नुहुँदै । तस्विर : सुजन गुरुङ

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १५ गते । श्री ३ महाराज देवशमशेर जबरा प्रतिष्ठानले विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मानित तथा पुरस्कृत गरेको छ । प्रतिष्ठानद्वारा बुधबार आयोजित सम्मान तथा पुरस्कार समर्पण कार्यक्रममा गोरखापत्र अनलाइनका निमित्त सम्पादक नारदमुनि गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशमशेर जबरा र साहित्यकार लालबहादुर भुजेललाई सम्मानित तथा पुरस्कृत गरिएको हो । 

सम्पादक गौतमलाई नगदसहित ‘श्री ३ महाराज देवशमशेर जबरा गोरखापत्र पत्रकारिता पुरस्कार २०७९’ बाट पुरस्कृत र साहित्यकार भुजेललाई नगदसहित सम्मान गरिएको छ । त्यसैगरी, राप्रपाका महामन्त्री जबरालाई सम्मानित गरिएको छ । उहाँहरूलाई प्रतिष्ठानका कोषाध्यक्ष हिमालय शमशेर जबराले सम्मानित तथा पुरस्कृत गर्नुभयो । 


कार्यक्रममा राप्रपा महामन्त्री जबराले राणाहरुले गरेका कामहरुको राम्रोसँग छानबिन गरी इतिहासलाई सही विवरण उपलब्ध गराउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हरेक समयमा परिस्थितिले केही कुरा ठीक हुन्छ । समय र सत्ता परिवर्तन भइसकेपछि त्यो कुरालाई वर्तमान सत्तामा बस्ने व्यक्तिहरुले गलत सावित गर्ने प्रयास गर्छन् ।’’ उहाँले देवशमशेरको नाममा कुनै प्रकारको धब्बा लाग्ने काम आफूले कहिले पनि नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका सभापति हिमालय शमशेर जबराले तत्कालीन प्रधानमन्त्री देव शमशेरले मुलुकमा जापानी ढाँचाको शासन व्यवस्था चाहनुभएको बताउँदै अहिलेको संविधानमा जनताको आवाजभन्दा राजनीतिक दलको विषयले प्राथमिकता पाएको चर्चा गर्नुभयो ।


पत्रकार गौतमले राणा प्रधानमन्त्री देव शमशेरले जम्मा ११४ दिनको शासनमा कार्यालय समय १० बजेदेखि ५ बजेसम्म तोकेको, कर्मचारीलाई बिदा दिने सुरुवात गरेको र कृषिमा आधुनिकीकरण गर्न आठ जना विद्यार्थीलाई जापान पठाएको उल्लेख गर्नुभयो । त्यसैगरी, देव शमशेरले छोटो समयमा देशभर विद्यालय खोल्नुका साथै जनतालाई सुसूचित गराउन गोरखापत्रको प्रकाशन सुरु गरेको सन्दर्भ चर्चा गर्नुभयो ।  

साहित्यकार भुजेलले मुलुकमा देव शमशेरको पहिचान स्थापित गर्न एक्लै गोरखापत्र काफी रहेको बताउँदै मुलुकको आजको शासन व्यवस्थाको सन्दर्भमा देव शमशेरले सुरु गरेका सुधारका कामहरूको सान्दर्भिकता बढ्दै गएको बताउनुभयो । 

कार्यक्रममा पत्रकार तथा लेखक प्रकृति अधिकारीले आफ्नो कृति ‘राणाकालीन शिक्षा’ र ‘एसएलसीको इतिहास’ नामक दुई कृति प्रतिष्ठानलाई उपहारस्वरुप हस्तान्तरण गर्नुभयो ।