• ६ चैत २०८०, मङ्गलबार

विपद्को सामना एकीकृत प्रयासबाट मात्रै सम्भव हुन्छ : गृहमन्त्री खाण

blog

गोरखापत्र अनलाइन

काठमाडौँ, असार १५ गते । गृहमन्त्री बालकृष्ण खाणले विपद्को सामना एकीकृत प्रयासबाट मात्रै सम्भव हुने बताउनुभएको छ । मनसुन पूर्वतयारी प्रतिकार्य बैठकमा सहभागी विपदमा समन्वय गर्नुपर्ने सरकारी निकायका पदाधिकारीहरूलाई बुधबार यहाँ निर्देशन दिँदै सरकारको मुख्य दायित्व प्राकृतिक प्रकोपबाट जनधनको सुरक्षा गर्नु भएकाले त्यसका लागि एकीकृत प्रयास गर्न आग्रह गर्नुभयो । 

विपद्को जोखिम न्यूनिकरण गर्दै जनताको जिउधनको रक्षा गर्ने राज्यको मूल दायित्व पूरा गर्न ठूलो चुनौति रहेको भन्दै त्यसलाई चिरेर अगाडि बढ्न सबैलाई उहाँले निर्देशन दिनुभयो । भारी वर्षापछि आउने बाढी, पहिरो तथा हुने डुबानाबाट रोक्ने रणनीतिसहितको पूर्वतयारी आवश्यक रहेको मन्त्री खाणको भनाइ छ । 

त्यसकालागि सड्क, खानेपानी, सञ्चार, स्वास्थ्य, सुरक्षासहितका निकायलाई तम्तयारी अवस्थामा बस्न उहाँले निर्देशन दिनुभयो । 

गृहसचिव टेकनारायण पाण्डेले विपद्को प्रतिकार्यका लागि तम्तयार अवस्थामा रहन सबैलाई निर्देशन दिनुभयो । विपदमा अत्यावश्यकीय सेवा सुचारु गर्न पूर्वतयारी गर्न मन्त्री खाणले निर्देशन दिनुभयो । 

कार्यक्रममा जल तथा मौसम पूर्वानुमान महाशाखा, सडक विभाग, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिँचाई विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाली सेना, नेपाल सशस्त्र प्रहरी र राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकारणका तर्फबाट विपद्को पूर्वतयारीका लागि गरिएका कामबारे जानकारी गराइएको थियो ।