• ११ वैशाख २०८१, मङ्गलबार

१९औँ राष्ट्रिय धान दिवस

मल अभावले रोपाइँ प्रभावित

blog

काठमाडौँ, असार १५ गते । मल अभावका कारण यस पटक धान रोपाइँमा कमी देखिएको छ । देशैभर असार १५ गते ‘धानबालीमा जैविक विविधताको उपयोग : आयात प्रतिस्थापनमा सहयोग’ भनी मूल नाराका साथ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउँदै आएको छ तर विगतको तुलनामा किसानले निकै कम रोपाइँ गरेका छन् । 

विगतमा असार १५ गतेसम्म ३० देखि ३५ प्रतिशत धान रोपाइँ हुन्थ्यो तर यस पटक १०–१२ प्रतिशत मात्र रोपाइँ भएको छ । मल पाएपछि मात्र रोपाइँ गर्ने भनेर कुरेर बसेका किसान अहिले अलिअलि मल पाउन थालेपछि रोपाइँ सुरु गरेका छन् । कृषि विभागका महानिर्देशक डा. रेवती रमण पौडेलले पहाडमा रोपाइँ सुरु भइसकेको छ तर तराईमा त्यसले रफ्तार नलिएको बताउनुभयो । 

कतै ७५ प्रतिशत रोपाइँ भएको छ भने कतै २ प्रतिशत मात्र भएको छ, उहाँले भन्नुभयो, “कास्कीका ७५ प्रतिशत रोपाइँ भइसकेको छ भने बाँकेमा २ प्रतिशत रोपाइँ मात्र भएको छ, त्यस्तै नवलपरासीमा ७६ प्रतिशत भएको छ भने बर्दियामा २४ प्रतिशत भएको छ ।” रोल्पामा ५४, प्युठानमा ६५, भोजपुरमा ५१ प्रतिशत रोपाइँ भएको छ । जिल्लाहरूबाट तथ्याङ्क आउने क्रम जारी रहेको विभागले जनाएको छ । 

यसरी देशैभरि धान रोपाइँको अवस्था एकनाश नरहेको उहाँले बताउनुभयो । समग्रमा देशभर १०–१२ प्रतिशत मात्र रोपाइँ भएको बताउँदै उहाँले भन्नुभयो, “यसरी धान रोपाइँमा ढिलाइ हुनुमा दुई कारण रहेका छन्, पहिलो कारण त मल नै हो भने दोस्रो कारण सिँचाइ हो ।”सुरुमा मलको अभाव थियो, कतिपय किसानले मल आएपछि मात्र रोपाइँ सुरु गर्छु भनि कुरेर बसेका थिए । 

पछिल्लो समय मल पाउन थालेपछि रोपाइँ सुरु भएका कारण त्यसमा केही ढिलाइ भएको उहाँले बताउनुभयो । अहिले जिल्ला–जिल्लामा डीएपी मल जान थालेको छ, किसानहरूले मल पाउन थालेका छन् त्यही भएर रोपाइँ पनि बिस्तारै सुरु भएको उहाँले बताउनुभयो । यो वर्ष वर्षाको पानीले किसानलाई धोका दिइरहेको छ । मनसुन चाँडै सुरु भयो तर सबैतिर एकनाशको पानी परिरहेको छैन । कतै डुबान भएको छ भने कतै सुक्खा छ । टुक्रा–टुक्रामा पानी परिरहेको छ । त्यसले गर्दा कतै धान रोपाइँको प्रतिशत बढेको छ भने कतै धेरै नै कम रहेको महानिर्देशक पौडेलले बताउनुभयो । 

असार १५ पछि धान रोपाइँले रफ्तार लिने बताउँदै उहाँले वर्षे धानका लागि मलको अभाव नहुने पनि दाबी गर्नुभयो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. प्रकाश सञ्जेलले पनि सुरुमा मल अभावका कारण धान रोपाइँलाई केही प्रभाव पार्ला कि आशङ्का थियो तर त्यस्तो अवस्था नरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “अहिले मलको अभाव छैन, हामी विभिन्न जिल्लाका अनुगमन पनि गरेका छौँ ठाउँ–ठाउँमा मल पुगेको छ, यसलाई अभाव भन्न मिल्दैन ।”विगतको तुलनामा धान रोपाइँ अलि कम देखिएको कुरा सही तर पूरै मलकै कारणले त्यस्तो भएको होइन, साउनको पहिलो हप्तासम्म ८०–९० प्रतिशतभन्दा बढी रोपाइँ भइसकेका हुन्छन् भन्दै उहाँले खासमा धान रोपाइँको मौसम असार १५ पछि मात्र सुरु हुन्छ, यो परम्पारादेखि चल्दै आएको बताउनुभयो । विगतमा पनि असार १५ पछि सबैतिर एकै पटक धान रोपाइँले रफ्तार लिन्थ्यो यस पटक पनि त्यस्तै हुने उहाँले बताउनुभयो ।