• १२ वैशाख २०८१, बुधबार

प्रकोप पूर्वतयारी गर्दै टीकापुर

blog

एकिन्द्र तिमिल्सेना 

टीकापुर (कैलाली), असार १५ गते  । बर्सेनि बाढी प्रभावित हुने कैलालीको टीकापुर नगरपालिकाले विपत्बाट बच्न पूर्वतयारी गरेको छ । बर्सेनि बाढी र डुबानबाट प्रभावित हुने टीकापुर नगरपालिकाले यस वर्ष मनसुन आउनुपूर्व नै आर्थिक, भौतिक र व्यवस्थापकीय तयारी गरेको हो ।

टीकापुरमा कर्णाली नदी, पथरैया नदी र मोहना नदीले डुबान, कटान र बगानको समस्या निम्त्याइरहेको छ । यी नदीबाट नगरका नौवटै वडा प्रभावित हुने गरेका छन् भने वडा नम्बर ५, ६, ७, ८ र ९ बढी प्रभावित हुने गरेका छन् ।

वर्ष २०७७ मा फैलिएको कोभिड–१९ र २०७८ कात्तिक १ गते कर्णाली नदी फुटेर गाउँ पसेको अनुभवबाट पाठ सिक्दै टीकापुर नगरपालिकाको बजेट, पूर्वाधार र व्यवस्थापन गर्ने टीमलाई चुस्त बनाउँदै लगेको हो । विपत् पूर्वतयारीमा टीकापुर नगरपालिकालाई विभिन्न साझेदारहरू– नेपाल रेडक्रस सोसाइटी, डब्लुडब्लुएफ, सेवक नेपाल, सीएसडीआर बाँकेलगायतका संस्थाले पनि सहयोग गरेका छन् । 

कन्टेनरमा उद्धार सामग्री

यहाँ एउटा कन्टेनरमा खोज उद्धार र पुनस्र्थापनाका लागि आवश्यक पर्ने ५२ वटा सोलार लाइट, ५० वटा लाइफ ज्याकेट, ११ वटा हातेमाइक, पाँचवटा ह्वीलचियर गरी ५४ प्रकारका सामग्री राखिएका छन् । विपत् आइहालेमा स्थानीय बजारबाट प्राप्त हुन सक्ने खाद्यान्नको लेखाजोखा गरिएको छ । यस्तै विपत्का बेला प्रयोग गर्न बनाइएको प्रणाली परिचालन गर्न सकिन्छ कि सकिँदैन भन्ने थाहा पाउन नगरपालिकाले स्थानीय नागरिक, उद्धार टोली, नेपाल प्रहरी, नेपाली सेना, विपत्मा काम गर्ने गैरसरकारी संस्थाहरू सहभागी भएर तीन दिनको पूर्वअभ्यास पनि गरिसकेको छ । 

उच्च घर र पहुँच मार्ग निर्माण

नगरपालिकाले नदी तटीय क्षेत्रमा बर्सेनि डुबान हुने र बाढी पस्ने भएकाले त्यहाँका नागरिकलाई लक्षित गरी विद्युत्, शौचालय, धारालगायतका सुविधासहितका उच्च घर निर्माण गरेको छ । केही वर्षअघि गैरसरकारी क्षेत्रबाट निर्माणकार्य भए पनि पछिल्ला वर्षहरूमा नगरपालिकाले आवश्यक ठाउँमा आफ्नै बजेटले पनि उच्च घर बनाइरहेको छ । बाढी आएको बेला प्रभावित क्षेत्रका मानिस आफ्ना महत्त्वपूर्ण कागजात, सम्पत्ति, बालबालिका, गर्भवती, अपाङ्गता भएका नागरिक, ज्येष्ठ नागरिकलाई तत्काल उच्च घरमा राखेर जोगाउने लक्ष्य राखिएको छ ।

“गैरसरकारी संस्थाको सहयोगमा पाँचवटा र  टीकापुर नगरपालिका, राष्ट्रिय जलवायु अनुकूलन कार्यक्रमको साझेदारीमा चारवटा गरी नौवटा उच्च घर बनिसकेका छन्,” नगरपालिकाका इन्जिनियर नवीन ओझाले भन्नुभयो, “उच्चघर बनेका धेरै ठाउँमा सडक बेस तयार भई यसै वर्ष कालोपत्रे हुँदै छन्, अरू स्थानमा पनि बाटोको पहुँच राम्रो छ ।” नगरपालिकाले बस्तीबाट विस्थापित भइहाले मानिसलाई बस्न उच्च घरका अलावा सुरक्षित सामुदायिक भवन, केही विद्यालय गरी ३२ वटा स्थान पहिचान गरिएको र उद्धार गर्न आवश्यक भए मेसिनरी सामान र तिनका चालकलाई समेत प्रशिक्षित गरिएको प्रमुख प्रशासकीय अधिकृत मङ्गलबहादुर शाही बताउनुहुन्छ ।

विपत् व्यवस्थापन कोषमा वृद्धि

विपत् आउनेबित्तिकै विस्थापितलाई राहत सामग्री दिनुपर्ने र संरचना भत्किएका स्थानमा तत्काल पुनर्निर्माण गर्नुपर्ने भएकाले नगरपालिकाले विपत् व्यवस्थापन कोषको पनि व्यव्यस्था गरेको छ ।

विपत् प्रभावित क्षेत्र भएकाले टीकापुर नगरपालिकाले बर्सेनि रकम छुट्ट्याएर विपत् व्यवस्थापन कोषमा राख्दै आएको छ । आव २०७८÷७९ को अन्त्यसम्म ९२ लाख ६५ हजार मौज्दात रहेको सो कोषमा आव २०७९÷८० को बजेटमा थप एक करोड ५० लाख विनियोजन गरिएको नगरपालिकाका उपप्रमुख खडकबहादुर शाह बताउनुहुन्छ । टीकापुर नगरपालिकाले कोभिड–१९ को महामारीका बेला झन्डै ८० लाख रुपियाँबराबरको राहत सामग्री र नगद प्राप्त गरेको थियो ।

आपत्कालीन कार्य सञ्चालन केन्द्र

नगरपालिकामा भएको साधन–स्रोतलाई प्रभावकारी बनाउन टीकापुर नगरपालिकाले आपतकालीन कार्य सञ्चालन केन्द्र पनि सञ्चालनमा ल्याएको छ । मनसुन सक्रिय भई बाढी, डुबानको समस्या आउन थालेमा चौबीसै घण्टा सञ्चालनमा ल्याउनेगरी तयारी भइरहेको नगरपालिकाको विपत् व्यवस्थापन उपशाखाका प्रमुख निर्मला चौधरीले जानकारी दिनुभयो । 

बाढीको जोखिम बढे केन्द्रमा जानकारी आउने र केन्द्रले विपत् पूर्वतयारीका लागि बनेका सबै संरचना र प्रणालीलाई खबर गरी तत्काल उद्धारमा जुट्न सक्ने, राहत दिन सक्ने र पुनस्र्थापना गर्न सक्ने व्यवस्था मिलाएको छ । विपत्पछि धनजनको क्षति नहोस् भन्ने उद्देश्यले तयारी भइरहेको उपशाखा प्रमुख चौधरीको भनाइ छ । गत वर्ष तटबन्ध भत्काएर कर्णाली नदी बस्तीमा पस्दा पनि मानवीय क्षति कम गर्न सकिएको नगरपालिकाको अनुभव छ । गत वर्षको बाढीमा एक जना ज्येष्ठ नागरिकको ज्यान गएको थियो । 

नगरपालिकाको वन वातावरण तथा विपत् व्यवस्थापन समितिका संयोजक बलिराम चौधरी सम्भावित विपत्बाट जोगिन सक्नेजति तयारी र काम भएको तर यस वर्ष वर्षा बढी हुने पूर्वानुमान आएकाले टीकापुरमा विभिन्न नदीहरूबाट जोखिम पनि बढ्न सक्ने बताउनुहुन्छ । टीकापुरमा दुई हजार २३८ परिवार सङ्कटापन्न अवस्थामा छन् भनी पहिचान गरिएको छ ।

Author

टीकापुर नगरपालिका–६ भगवानपुरमा बनाइएको उच्च घर । तस्बिर : एकिन्द्र तिमिल्सेना