• १६ चैत २०८०, शुक्रबार

पुल निर्माणमा ढिलाइ हुँदा जोखिम बढ्यो

blog

फाइल तस्विर

चरीकोट, असार १५ गते । लामोसाँघु–जिरी सडकखण्ड अन्तर्गत दोलखाको तामाकोसीमा रहेको सडक पुल निर्माणमा ढिलाइ हुँदा जोखिम बढेको छ । दोलखाको भीमेश्वर नगरपालिका र वैतेश्वर गाउँपालिका जोड्ने पुलको जग र पिलरमात्रै बनाएर अलपत्र छाडिएका कारण तामाकोसी नदीको पुरानो पक्की पुल जोखिममा परेको बताइएको छ । 

तीन दशकभन्दा अघि तामाकोसीमा बनेको यो सडक पुल पुरानो भएपछि पक्की पुल निर्माणका लागि गत २०७३ साल भदौ ७ गते मिलगिरि नेसनल जेभी कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । सो कम्पनीले नौ करोड ७४ लाख ९६ हजार रुपियाँको लागतमा २०७५ साल भदौ ५ गते पुल निर्माण सम्पन्न गर्नेगरी पुल योजना महाशाखासँग ठेक्का सम्झौता गरेको थियो ।

सम्झौताअनुसार निर्माण अवधि सकिएको चार वर्ष बित्दासमेत पुलको भौतिक संरचना करिब ५१ प्रतिशतमात्रै निर्माण भएको छ । पुल निर्माणका लागि पुल योजना महाशाखाले दुई पटक म्याद थप गरिसके पनि काममा प्रगति हुन नसकेको सडक पुल महाशाखा सेक्टर नम्बर २ काठमाडौँले जनाएको छ । 

कम्पनीले पुलको वैतेश्वर र भीमेश्वरतर्फको जग र पिलरको काम सुरुमात्रै गरेर अलपत्र छाडेको छ । तामाकोसी बजारको अव्यवस्थित घरटहरा हटाउन तीन वर्ष लागेको र कोरोना महामारी तथा निर्माण सामग्रीको मूल्यवृद्धिलगायतका कारण सडक पुल निर्माणमा ढिलाइ भएको मिलगिरि नेसनल जेभी कम्पनीका युवराज डाँगीको दाबी छ । उहाँले पिलर राख्ने काम सम्पन्न भइसकेको र सुपर स्ट्रक्चरको काम एक वर्षभित्र सम्पन्न गर्ने बताउनुभयो ।

फुटपाथसहित ११ मिटर चौडाइ र ७५ मिटर लम्बाइको आर्क ब्रिज निर्माण अन्योल हुँदा पूरा हुने टुङ्गै छैन । नयाँ पुल निर्माणमा ढिलाइ हुँदा ३७ वर्षअघि निर्माण भएको तामाकोसीको सडक पुल उच्च जोखिममा परेको छ । तामाकोसी नदीमा पानीको ठूलो बहाव आएमा पुल बगेर जाने जोखिम बढेको स्थानीयले बताएका छन् । जोखिममा परेको तामाकोसी पुलमा कुनै क्षति पुगेमा रामेछाप र दोलखाको सदरमुकाम चरीकोटसम्मको सडक सम्पर्क टुट्ने र सडक सञ्जाल पनि बन्द हुनेछ ।