• ६ चैत २०८०, मङ्गलबार

आफ्नै संरक्षणको पर्खाइमा संरक्षण कार्यक्रम

blog

काठमाडौँ, असार १५ गते । वसन्तपुरस्थित हनुमानढोका संरक्षण कार्यक्रमको मुख्य काम त्यस वरपरका ऐतिहासिक सम्पदाको संरक्षण, सरसफाइ तथा त्यस क्षेत्रमा आउने पर्यटकको हेरचाह गर्नु हो तर यो कार्यालय अचेल आफैँ संरक्षणको पर्खाइमा रहेको छ । 

कार्यालयको मूलढोका नै छेक्ने गरी असरल्ल तार झुन्डिरहेका छन् । कार्यालय छिर्दा तार पन्छ्याएर निहुरिँदै भित्र जानुपर्छ । झुन्डिएका तारका कारण आफूहरू असुरक्षित रहेको भन्दै कर्मचारीले एक सातादेखि सरोकारवाला कार्यालयमा हारगुहार गरिरहेका छन् । तर उनीहरूको गुनासो सुनुवाइ भएको छैन । 

यस कार्यालयको अगाडि भएर नेपाल विद्युत् प्राधिकरण, टेलिकम, सीसीटीभीलगायत विभिन्न केबल सेवा प्रदायक कम्पनीका तार टाँगिएका छन् । सबै कम्पनीको तारलाई मुठा पारिएको छ तर केही समयअघि विद्युत् प्राधिकरणले आफ्नो तार मर्मत गर्ने क्रममा ती मुठा फुकाएर मर्मत गरिसकेपछि अरू तार असरल्ल छोडिदिएकाले समस्या भएको हनुमानढोका संरक्षण कार्यक्रमका प्रमुख रोशनमान शाक्यले बताउनुभयो ।  प्राधिकरणले टाँगेर बाँकी रहेको तार लत्रक्कै झुन्डिएपछि बाँसको टेको लगाएर अड्याइएको छ । तत्कालका लागि टेको लगाएर तार सामान्य पन्छाइए पनि जोखिम कायम रहेको उहाँले गुनासो गर्नुभयो । 

तार व्यवस्थापन गरिदिन उक्त कार्यालयले विद्युत् प्राधिकरण, नेपाल टेलिकम तथा काठमाडौँ महानगरपालिकालाई समेत लिखित अनुरोध गरिसकेको छ तर अहिलेसम्म कतैबाट पनि प्रतिक्रिया नआएको कार्यालयका सब–इन्जिनियर बिन्दिया कार्कीले जानकारी दिनुभयो । शाक्यले भन्नुभयो, “आफैँ हटाऔँ भने अरूको तार चुँडिन सक्छ । काम गर्ने क्रममा करेन्ट लाग्यो भने अर्काे आपत आइलाग्ने । त्यसैले आँट गर्न सकेका छैनौँ ।”

हनुमानढोका दरबार क्षेत्र विश्वसम्पदा सूचीमा सूचीकृत छ । ऐतिहासिक महत्त्व बोकेको तथा आन्तरिक र बाह्य पर्यटकको समेत घुइँचो लाग्ने हुनाले महानगरपालिकाले यस क्षेत्रमा कार्यालय नै स्थापना गरेर संरक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर पर्यटकीय क्षेत्रलाई नै असुरक्षित र कुरूप पार्ने क्रियाकलाप जिम्मेवार निकायबाटै भएकोमा चौतर्फी टिप्पणी हुन थालेको छ । 

यत्रतत्र छाडिएका तारले सडकमा पनि समस्या निम्त्याउने गरेको गुनासो गर्दै कुलेश्वर निवासी चिरञ्जीवी सापकोटाले भन्नुभयो, “केबल टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायकले नाफा कमाउने नाममा आमनागरिकलाई समस्यामा पार्नु गलत हो ।”

नेपाल केबल टेलिभिजन महासङ्घका अध्यक्ष सुधीर पराजुलीले भन्नुभयो, “इन्टरनेट तथा केबल टेलिभिजन प्रदायक संस्थाले आफ्नो तार चिन्न सकेको अवस्थामा आफैँ व्यवस्थापन गर्ने गरेका छन् तर कतिपय अवस्थामा तार नै चिन्न नसकेर व्यवस्थापनमा समस्या परेको छ ।” तार व्यवस्थापनमा काठमाडौँ महानगरपालिकासँग पनि समन्वय गर्ने गरिएको उहाँले बताउनुभयो । 

यस्तो समस्या सम्पूर्ण सहरकै लागि टाउको दुखाइ बनेको महानगरपालिकाले जनाएको छ । सडकका किनारमा यत्रतत्र छरिएका तारले दुर्घटनासमेत निम्त्याउने गरेको छ । यद्यपि महानगरपालिका प्रहरी प्रमुख धनपति सापकोटाले भुइँमा लत्रेको तारको आफूहरूले व्यवस्थापन गर्ने गरेको दाबी गर्नुभयो । 

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।