• १६ चैत २०८०, शुक्रबार

दुर्व्यसनकाे लतमा विद्यार्थी

blog

रौतहट, असार १५ गते  । रौतहटको अधिकांश निजी एवं सामुदायिक विद्यालयका विद्यार्थी दुर्व्यसनमा फस्दै गएको पाइएको छ । लागूऔषध तथा एचआईभी एड्सको क्षेत्रमा काम गर्दै आएको विद्यार्थी जागरण मञ्च (विजाम)ले सार्वजनिक गरेबमोजिम कक्षा ९ देखि कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थी दुर्व्यसनी बन्दै गएको पाइएको हो । 

विजामले जनाएअनुसार जिल्लाका निजी एवं सामुदायिक विद्यालयमा अध्ययनरत ७५९ जना विद्यार्थी लागूऔषध सेवनमा फसेका छन् । विजामका जिल्ला संयोजक सोनी मल्लीले कक्षा ९ देखि १२ सम्म अध्ययनरत चन्द्रपुर नगरपालिकाको निजी एवं सामुदायिक विद्यालयका ७९ जना विद्यार्थी कुलतमा फसेको बताउनुभयो । 

संयोजक मल्ली भन्नुहुन्छ, “लागूऔषध कारोबारीले भारतीय बजारमा खुलेआम बिक्री हुने औषधिजन्य लागूपदार्थ निर्धक्क खरिद गर्छन् र लुकाइछिपाई सीमा पार गरी रौतहटका विद्यार्थीलाई सेवन गर्न उक्साउँछन् । बिस्तारै बानी पार्छन् र लागूऔषध दुर्व्यसनमा फसाउँछन् अनि कारोबार बढाउँदै लैजान्छन् ।” 

लागूऔषध सेवनको सिकार बनेका विद्यालयमध्ये इशनाथ नगरपालिकामा ४६, कटहरिया नगरपालिकामा ४२, गढीमाई नगरपालिकामा ४४, गरुडा नगरपालिकामा ५६, गुजरा नगरपालिकामा ५१, गौर नगरपालिकामा ३८, दुर्गा भगवती गाउँपालिकामा २५, देवाहीगोनाही नगरपालिकामा ३५, परोहा नगरपालिकामा ४१, फतुवाविजयपुर नगरपालिकामा ४०, वृन्दावन नगरपालिकामा ४७, बौधीमाई नगरपालिकामा चार, माधवनारायण नगरपालिकामा ३९, मौलापुुर नगरपालिकामा २९, यमुनामाई गाउँपालिकामा २६, राजदेवी नगरपालिकामा ३४ र राजपुर नगरपालिकामा ४५ जना रहेको तथ्याङ्क विजामले सार्वजनिक गरेको छ । 

संस्थाले चन्द्रनिगाहपुरमा स्वास्थ्यकर्मी, सञ्चारकर्मी एवं सरोकारवालाको उपस्थितिमा एक कार्यक्रम गरी उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । कार्यक्रममा विद्यार्थीलाई कुलतमा फस्नबाट कसरी जोगाउने भन्नेबारेमा छलफलसमेत भएको थियो । छलफलमा सबैभन्दा पहिला आफ्ना छोराछोरीको आनीबानीमा भएको परिवर्तनका बारेमा अभिभावकले नै चासो राख्नुपर्ने, लागूऔषध कारोबारी पत्ता लगाई यस्तो कारोबारलाई निरुत्साही बनाउन सुरक्षा निकाय सक्रिय हुनुपर्ने, विद्यालयमा विद्यालय प्रशासनले विद्यार्थीको गतिविधिमा निगरानी बढाई त्यस्ता कार्य गर्नबाट वञ्चित गराउनुपर्नेलगायतका सुझाव आएको थियो । 

यसैबीच चन्द्रपुर नगरपालिका–६ मा रहेको जनज्योति माध्यमिक विद्यालय प्रशासन र शिक्षकले शुक्रबारदेखि विद्यालय उपस्थित हुने विद्यार्थीको झोला, खल्ती जाँच गर्ने गरेको जानकारी दिँदै विद्यार्थीको व्यवहारमा देखिएको परिवर्तनमा निगरानी बढाएको बताउनुभयो ।

कुलतमा फसेका विद्यार्थीले निलेर वा सुईको माध्यमबाट विभिन्न प्रकारका लागूऔषध उपभोग गर्ने गरेको बताइएको छ । धेरै जना विद्यार्थीले एउटै सुई प्रयोग गरेर लागूऔषध लिने गरेका कारण उनीहरूमा एचआईभी एड्सको सङ्क्रमण हुने सम्भावना अधिक रहेको संयोजक मल्लिकले बताउनुभयो ।

विद्यार्थीमा देखिएको यस्तो विकराल अवस्थाको निराकरण गर्न अभिभावक, शिक्षक, समाज, सुरक्षा निकाय, विभिन्न दबाबमूलक संस्था, सामाजिक संस्था सबैको समान दायित्व छ । समयमा लागूऔषध कारोबार र सेवन कार्य रोक्न सकिएन भने एकातिर विद्यालय उमेर समूहका विद्यार्थीको भविष्य र अभिभावकको सपना चकनाचुर हुने सुनिश्चित छ भने अर्कोतिर समाजमा विकृति विस्तार भई सामाजिक मूल्य, मान्यतामा समेत नकारात्मक प्रभाव पर्ने सरोकारवालाको चिन्ता छ ।