• १३ वैशाख २०८१, बिहिबार

अविरल वर्षाका कारण घर जलमग्न

blog

फाइल तस्बिर

जनकपुर, असार १५ गते ।  विगत दुई दिनदेखिको अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका–१० स्थित अधिकांश घर जलमग्न भएका छन् ।

पानीको उचित निकास नहुँदा अविरल वर्षाका कारण बस्ती नै जलमग्न भएको उपमहानगरपालिकाका उपप्रमुख स्थानीय किशोरी साहले जानकारी दिनुभयो । अधिकांश घरमा पानी जमेपछि स्थानीयवासी समस्यामा परेका छन् । 

अघिल्लो नगरप्रमुखलाई पानी निकासको समस्याबारे सुनाउँदा कुनै सुनुवाइ नभएकाले आफूहरु बर्सेनि यस्तो समस्या व्यहोर्दै आएको उहाँको गुनासो छ । आफूहरु भर्खरै निर्वाचित भएकाले पानी निकासको ठोस उपाय गर्न नसकिए पनि अब यसको दिगो समाधानका लागि प्रयास गर्ने उहाँले बताउनुभयो । 

यस्तै हिजोदेखिको अविरल वर्षाका कारण जनकपुरधामस्थित अधिकांश सरकारी कार्यालय परिसरमा पानी जमेका छन् । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, आन्तरिक राजस्व कार्यालय, हुलाक कार्यालयलगायतका सरकारी कार्यालय परिसरमा पानी जमेको छ । 

अविरल वर्षाका कारण बजारमा चहलपहल घट्दा व्यापार व्यवसायी प्रभावित भएको छ । निरन्तरको वर्षाका कारण सरकारी कार्यालयमा आउने सेवाग्राही घटेका छन् । वर्षाका कारण जनजीवन प्रभावित भए पनि अहिलेसम्म मधेस प्रदेशमा कुनै मानवीय क्षति नभएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो । बाढीजन्य विपद्का कारण जोखिमयुक्त क्षेत्रको पहिचान गरी सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो । 

यसैबीच जिल्ला प्रशासन कार्यालय धनुषाले अविरल वर्षा जारी रहेकाले नदी आसपासका स्थानीयवासीलाई सचेत रहन आग्रह गरेको छ । कमला नदी र रातुखोलामा पानीको सतह बढ्न सक्ने भएकाले नदी आसपासका क्षेत्रका स्थानीयवासी सचेत हुनुपर्ने धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आग्रह गर्नुभयो ।