• १२ वैशाख २०८१, बुधबार

रातिदेखि अविरल वर्षा : ठाउँ–ठाउँमा पहिरो, मुख्य सडक अवरुद्ध

blog

जिल्लाको रैनादेवी छहरा–४, मा रहेको मंगलसिंह हिताङ्गको पसलमा पहिरो खसेपछिको अवस्था । तस्बिर : गोरखापत्र

रेखीराम राना

पाल्पा, असार १५ गते । गए रातिदेखि परेको अविरल वर्षाले सडकमा पहिरो खसेपछि पाल्पाका मुख्य राजमार्ग र सहायक राजमार्गमा यातायात अवरुद्ध भएका छन् । वर्षासँगै सिद्धार्थ राजमार्गको सिद्धबावा क्षेत्रमा पहिरो खसेको छ । यस्तै सिद्धार्थ राजमार्गकै पाल्पा राम्दी खण्डको रम्भा सेरामा पहिरो खसेको छ । पहिरोका कारण राजमार्गमा सवारीसाधन गुड्न सकेका छैनन् । 

यस्तै तानसेन तम्घास सडकखण्डको जोर्तेमा पहिरो खस्दा सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

विभिन्न स्थानमा खसेको पहिरो हटाउने प्रयास भइरहे पनि निरन्तर पानी परिरहेकाले पहिरो हटाउन समस्या रहेको उहाँले बताउनुभयो । यस्तै बाँसटारी–झडेवा सडक, तानसेन–आर्यभन्ज्याङ् र तानसेन–छहरा सडकमा भने सवारीसाधन सञ्चालनमा छन् । 

पहिरोले पसल बगायो 

जिल्लाको रैनादेवी छहरा–४, स्थानीय मङ्गल सिंह हिताङकाे पसलमा गएराति पहिरो खसेको छ । पसल पहिरोले बगाउँदा भित्र रहेका सामग्री पूर्णरुपमा नष्ट भएको स्थानीय बासिन्दा नित्यानन्द पोखरेलले जानकारी दिनुभयो ।

पहिरोले मानवीय क्षति भने नभएको उहाँले बताउनुभयो । रातिदेखि अबिरल परेको वर्षात्ले जिल्लाका अन्य स्थानमा समेत क्षति पुगेको हुनसक्ने र विवरण अहिलेसम्म प्राप्त नभएको प्रहरीले जनाएको छ ।