• १६ चैत २०८०, शुक्रबार

राजमार्ग अवरुद्ध

blog

ज्यामिरे खोलामा आएको बाढीले अवरोध गरेपछि सवारीसाधन खोलामा फस्दा यात्रुलाई सास्ती ।तस्बिर :भक्तिविलास पोखरेल

गाईघाट, असार १५ गते । लगातार परेको वर्षासँगै स्थानीय खोलामा आएको बाढीका कारण मङ्गलबार अपरान्हदेखि मदन भण्डारी राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना भनिएको उक्त राजमार्गअन्तर्गतका दर्जनौं खोलामा पुल निर्माण नहुँदा सवारी आवागमन अवरुद्ध भएको हो ।

उदयपुर जिल्लाको चौदण्डिगढी नगरपालिका–९ स्थित ज्यामिरे खोलमा आएको बाढीले अवरोध गरेपछि दर्जनौं मालवाहक तथा यात्रुवाहक सवारी साधन खोलामा फसेका र कतिपयलाई आफूले डोजर प्रयोग गरी उद्धार गरेको चौदण्डिगढी नगरपालिकाका प्रवक्तासमेत रहनुभएका वडा नम्बर ९ का अध्यक्ष प्रकाश राउतले बताउनुभयो ।

सरकारले सो राजमार्गलाई राष्ट्रिय गौरवको आयोजना भनी नामाकरण चाहिँ गरेको तर सो अनुसारको बजेट उपलब्ध नगराउँदा काममा व्यापक असहज हुँदै आएको सो योजनाको काम गर्दै आउनुभएका गाईघाट–दिक्तेल सडक आयोजनाका प्रमुख डिई गोपालप्रसाद खकुरेलले बताउनुभयो ।

मदन भण्डारी राजमार्गको कामसमेत गाईघाट–दिक्तेल सडक आयोजनामा थोपरिएको तर अर्थ मन्त्रालयले रकम निकासा नदिँदा आफू जिल्लाबाट भागेर काठमाडौँमा आएको उहाँले जानकारी दिनुभयो । सरकारले ६० करोड बजेट विनियोजन गरेको भने पनि अझै २१ करोड भुक्तानी दिन बाँकी रहेकोले निर्माण व्यवसायीको चर्काे दबाब खप्न नसकेर आफूले अफिसै छोडेर हिँड्नु परेको उहाँले बताउनुभयो ।

सो आयोजना सुरु हुँदाको समयमा छुटेका विभिन्न १२ वटा पक्की पुलमध्ये चारवटाको काम यही असार मसान्त भित्रमा सम्पन्न हुन लागेको, आठवटाको काम आगामी फागुन मसान्तसम्म सम्पन्न हुने गरी निर्माण भइरहेको र अघिल्लो वर्षमै निर्माण सम्पन्न भई सञ्चालनमा आएका विभिन्न २१ वटा पक्की पुलको एप्रोच सडकको कालोपत्रे गर्ने कामसमेत चालु आर्थिक वर्षमा सम्पन्न गरिएको डिई खकुरेलले बताउनुभयो । यी सबै कामको बिल भुक्तानी गर्न अर्थ मन्त्रालयले बजेट नदिँदा आफुलाई कार्यालयमा बसेर काम गर्नसमेत असहज भएपछि १५ दिनदेखि रकम माग गर्दै अर्थ मन्त्रालय धाइरहेको उहाँले जानकारी दिनुभयो ।