• ११ वैशाख २०८१, मङ्गलबार

आज असार १५ अर्थात् दही चिउरा खाने दिन

blog

‘दही चिउरा जति मिठो अरु हुँदैन’

काठमाडौं, असार १५ गते । आज असार १५ अर्थात्  दही चिउरा खाने दिन । सरकारले यस दिनलाई धान दिवसको रुपमा समेत मनाउँदै आएको छ । नेपाली समाजमा परम्परागत रुपले नै असार १५ मा दही चिउरा खाने चलन रहेको छ ।

संस्कृतिविद् ओम धौभडेलका अनुसार परापूर्वकालमा समयमै रोपाइँ सकिएको खुसी मनाउँदै दही चिउरा खाने गरिन्थ्यो । यो सबै नेपालीहरुको राष्ट्रिय पर्वको रुपमा विकास भएको छ । 

असारको बीच अर्थात असार १५ गते सम्ममा धान रोप्न सक्नुपर्ने मान्यतासँगै यो दिन मनाउन सुरु गरिएको हो । ऐतिहासिक रुपमा हेर्ने हो भने नेवार समुदायमा भोजमा दही बिना भोज नै हुँदैन । गर्भावस्थामा, जन्मदिनको अवसरमा, भोजको अन्तिममा परिकारको रुपमा खाएर भोज समापन गर्ने गरिन्छ । 

संस्कृतिविद् धौभडेलका अनुसार, दही चिउरा जति मिठो अरु हुँदैन । असारमा माना रोपेर मुरी फलोस् भन्ने कामना लिएर धान रोप्न सुरु गरिन्छ । रोपाइँको समयमा मरिमेटेर सबैले काम गर्ने गर्छन् । त्यसैले शरीरको आवश्यक शक्ति परिपूर्ति गर्ने खानाको रुपमा पनि दही चिउरालाई लिइन्छ ।  

धान रोप्ने महिनामा माछा मासु खायो भने वर्षातको मौसममा माछा मासु पचाउन गाह्रो हुन्छ । प्रायः किसानका घरमा गाईभैंसी पालिएको हुन्छ । गाईभैंसीले दूध पनि बढी उत्पादन गरेको हुन्छ । त्यसैले यो समयमा घरमै भएको दूधबाट बनाइएका दही खाएर असारमा गाह्रो गरी गरेको कामका लागि शरीरलाई चाहिने आवश्यक तत्त्वको रुपमा दही चिउरालाई लिने धौभडेल बताउनुहुन्छ । 

दही चिउरा पौष्टिक आहार हो । दही र चिउराको सम्बन्ध नङ मासुको जस्तै हुन्छ । भगवानको पालादेखि खानाको रुपमा खीर खाने र खाजामा दही चिउरा खाने चलन रहँदै आएको छ । त्यसैले यसको प्रयोगले महत्त्व पाएको उहाँको भनाइ छ ।

“नेपाल जस्तो कृषिप्रधान देशले आफ्नो देशको उत्पादनलाई राष्ट्रिय महत्त्व झल्काउने गर्छ,” संस्कृतिविद् धौभडेल भन्नुहुन्छ, “असार १५ वा धान दिवस हामी नेपालीहरु कृषिमा आत्मनिर्भरताको प्रमाण हो । प्रस्तुत छ– गोरखापत्र अनलाइनका लागि सनम महर्जन  फोटो पत्रकारद्वय मनोजरत्न शाही र केशब गुरुङले गर्नुभएको संवाद :