• ६ चैत २०८०, मङ्गलबार

चिटिक्क बनाइँदै टुँडिखेल

blog

पाल्पा, असार १५ गते । तानसेन नगरपालिकाले पाल्पा टुँडिखेल चिटिक्क र आकर्षक बनाएको छ । टुँडिखेल सुधार योजनाअन्तर्गत नगरपालिकाको प्राङ्गणसँगै टुँडिखेल मर्मत सम्भार तथा सुधार गरिएको हो । नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा टुँडिखेल मैदान सुधारसहित ज्येष्ठ नागरिकमैत्री र बाल उद्यान बनाउने उद्देश्यका साथ सो काम थालनी गरेको थियो ।

दुई वर्षभित्र काम सक्ने गरी टुँडिखेलको सुधार गर्न तीन करोड ८२ लाख ९४ हजार रुपियाँ टेन्डर भएको नगरपालिकाका इन्जिनियर रामप्रसाद श्रेष्ठले बताउनुभयो । पाल्पा तानसेन बजारको महिमा र आकर्षक बोकेको टँुडिखेल मर्निङवाक, फुटलबल मैदानसहित विश्राम गर्न आउने नागरिक, बालबालिका र अन्यका लागि आराम गर्न मिल्ने गरी सुधारको योजना अघि बढाइएको नगरपालिकाले जनाएको छ । 

यहाँ बाल बगैँचा, ज्येष्ठ नागरिक बगैँचा, फुटबल मैदान र विश्रामस्थल बनाउने काम जारी छ । टुँडिखेल वरिपरि विभिन्न किसिमका फूल रोपेर सुन्दरता बढाइने छ । हालसम्म निर्माणको काम ८५ प्रतिशत सकिएको छ । मैदानभित्र बस्तुभाउ छिर्न नसक्ने गरी पर्खाल,  फलामको रेलिङ, बाउन्डरी वाल, फुटपाथ ब्लक र मिनी स्टेज बनिसकेको छ । यी संरचनाको निर्माणले तानसेन नगरपालिकाको सुन्दरता बढाउने अपेक्षा गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पीताम्बर पाण्डेय टुँडिखेलको बीच भाग फुटबल मैदानमा खेलाडी खेल्न मिल्ने गरी हरियो घाँस लगाउने योजना रहेको बताउनुहुन्छ । 

टुँडिखेल सुधार योजना यो आर्थिक वर्षमा सक्ने योजना रहे पनि विविध कारणले केही समय लाग्ने भनाइ उहाँको छ । निर्माण कम्पनीलाई पुनः म्याद थप गरी निर्माण कार्यलाई निरन्तरता दिने जनाइएको छ । टुँडिखेल निर्माण ठेक्काको जिम्मा लिएको जयनेपाल ईश्वरचन्द्र निर्माण सेवा प्रालिलाई पुनः असोज मसान्तसम्ममा काम सक्ने गरी म्याद थप गरिएको नगरपालिकाले जनाएको छ ।