• ६ चैत २०८०, मङ्गलबार

विचरण क्षेत्र खोज्दै बाघ

blog

बाघको आक्रमणबाट घाइते भएका चितवनको राप्ती नपा–१, दुबीचौरका इन्द्रबहादुर तामाङको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार हुँदै ।तस्बिर : वसन्त पराजुली

  भरतपुर/नेपालगञ्ज/बर्दिया असार १५ गते । राष्ट्रिय निकुञ्जको भित्री क्षेत्रमा बाघको सङ्ख्या बढेपछि बासस्थान र आहाराको खोजीमा बाघ निकुञ्जभन्दा बाहिर हिँडडुल गर्न थालेका छन् ।  हिजोका दिनमा बाघ नहिँड्ने तर स्थानीयवासीले दैनिकजसो आवतजावत गर्ने ठाउँमा बाघको विचरण हुन थालेपछि मानव वन्यजन्तु द्वन्द्वका घटना बढिरहेका छन् । गाईबस्तु चराउँदा, घाँस, दाउरा, स्याउला सोत्तर सङ्कलन गर्दा, निउरो तथा च्याउ टिप्न आउजाउ भइरहने स्थानमा बाघ आउन थालेपछि पछिल्ला दिनमा बाघको आक्रमणमा परेर ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको छ । 

नरभक्षी बाघले मान्छे खाएको केही दिनसम्म निकुञ्ज प्रशासनले बाघलाई समात्ने कोसिस गर्छ, पीडितलाई राहतको प्रक्रियाको थालनी गर्छ । एउटा घटना शान्त हुन नपाउँदै अर्का घटनामा बाघले मान्छे मारिसकेको हुन्छ । विश्व वन्यजन्तु कोषका वनजन्तुविज्ञ रामप्रित यादव पछिल्लो समय बाघको सङ्ख्या बढेकाले बाघले आफ्नो बासस्थान विस्तार गरिरहेको तर्क गर्नुहुन्छ । उहाँले भन्नुभयो, “बाघको सङ्ख्या क्रमशः बढ्दै छ । हाम्रो निकुञ्जको क्षेत्र सीमित छ, अनि बाघ बाहिर आउने नै भयो । बाहिर आउँदा मान्छेसँग ठोक्किन पुग्छ ।”

गत पाँच वर्षमा बाघको आक्रमणबाट बाँके र बर्दियामा २९ जनाको मृत्यु भएको छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जले दिएको जानकारी अनुसार गत पाँच वर्षको अवधिमा बर्दियामा २३ र बाँकेमा छ जना गरेर २९ जनाको मृत्यु भएको हो । त्यसैगरी गत एक वर्षको अवधिमा चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट १६ जनाको ज्यान गइसकेको छ । 

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार जब बाघ घाइते वा कुनै कारणले कमजोर हुन्छ, अनि निकुञ्जभन्दा बाहिर आएर आहाराको मौका छोपेर बसेको हुन्छ । त्यस्तो क्षेत्रमा मानिसको आवतजावत हुँदा दुर्घटना हुने गरेको छ ।

मान्छेलाई आक्रमण गरेको समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिने क्रममा हाल चितवनमा तीनवटा बाघ खोरमा राखिएका छन् । बर्दियाबाट छ र बाँके राष्ट्रिय निकुञ्जबाट एउटा बाघ नियन्त्रणमा लिएर खोरमा राखिएका हुुन् । चितवनको खोरमा राखिएकामध्ये चारवटा नरभक्षी नभएको भन्दै निकुञ्जभित्रै छाडिएका छन् भने खोरमा राखिएको एउटा बाघको मृत्यु भएको छ । मान्छेलाई आक्रमण गर्ने सबै बाघ नरभक्षी र समस्याग्रस्त हुन नसक्ने प्रमुख संरक्षण अधिकृत आचार्यको भनाइ छ । 

बाघविज्ञ डा. झमक कार्कीका अनुसार कहिलेकाहीँ बाघ विचरण गर्ने क्षेत्रमा मानिसको अनावश्यक प्रवेश हुँदा पनि दुर्घटना हुन सक्छ । त्यस्ता घटनामा बाघ नरभक्षी र समस्याग्रस्त नभई बाघले आफू असुरक्षित ठानेपछि मान्छेलाई आक्रमण गरेको हुन सक्ने उहाँको भनाइ छ ।

मान्छेको रगतमा नुनिलोपन बढी हुने भएकाले एक पटक मान्छेको रगतको स्वाद लिएको बाघले दोस्रो पटक पनि मान्छे नै खोज्ने गरेको बताइन्छ । यद्यपि निकुञ्जका पशुचिकित्सक डा. विजय श्रेष्ठ बाघ नरभक्षी किन भइरहेको छ भन्ने कुरा हालसम्म अध्ययन हुन नसकेकाले ठोस कारण भन्न नसकिने बताउनुहुन्छ । 

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाएर सहअस्तित्व कायम गर्न निकुञ्जले पहिलो पटक पाँच वर्षीय रणनीतिक योजना बनाएर काम सुरु गरिसकेको बताउनुभयो । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा. बाबुराम लामिछाने निकुञ्जभित्र कतिपय अवस्थामा बाघ एकापसमा जुधेका घटना बाहिर आएकाले पनि उनीहरूमा आहाराको कमी छ भन्ने देखाएको तर्क दिनुहुन्छ । 

एक वयस्क भाले बाघले ४० वर्गमिटर र पोथी बाघले ३० वर्गमिटरलाई आफ्नो विचरण क्षेत्र बनाएको हुन्छ । कुनै पनि बाघले आफ्नो विचरण क्षेत्रमा अरू बाघ आउन दिँदैन । चितवन÷पर्सा कम्प्लेक्समा गरिएको एक सर्वेक्षणअनुसार निकुञ्जमा बाघको आहाराजन्य जनावर प्रतिवर्ग किलोमिटरमा ७२ वटा भेटिएका छन् । बाघको आहारामा मृग, बँदेल, जरायो, गौरीगाई, नीलगाई, चित्तल, हरिण, बाह्रसिङ्गालगायतका वन्यजन्तु पर्छन् ।

Author

वसन्त पराजुली/सिराज खान/मुकुन्द सुवेदी