• ११ वैशाख २०८१, मङ्गलबार

‘अभिव्यक्ति स्वतन्त्रताबिनाको लोकतन्त्र हुँदैन’

blog

प्रेस चौतारी नेपाल चितवनले भरतपुरमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवाली ।तस्बिर : शालिग्राम नेपाल

चितवन, असार १५ गते । नेकपा (एमाले)को उपमहासचिव प्रदीप ज्ञवालीले अभिव्यक्ति स्वतन्त्रताबिनाको लोकतन्त्र हुन नसक्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले मदन भण्डारीको जन्मजयन्तीको अवसरमा भरतपुरमा मङ्गलबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले काल्पनिक कुरा बाहिर आयो भन्दैमा प्रेसलाई नियन्त्रण गर्न नहुने बताउनुभयो । 

उहाँले कम्युनिस्ट आन्दोलनलाई विशिष्ट उचाइमा पु-याउने काम जनताको बहुदलीय जनवाद (जबज)ले गरेको बताउँदै जबजले जनतालाई उच्च स्वतन्त्रता दिएको दाबी गर्नुभयो । अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र बाँच्न नसक्ने उहाँले बताउनुभयो । ‘अभिव्यक्ति स्वतन्त्रताको विषयमा जबजले उच्च महत्त्व दिएको छ । “कहीँ कतै प्रायोजित त हुन्छन् तर बोल्नै नपाउने भन्न हुँदैन,” उहाँले भन्नुभयो । घटनाको सत्यतथ्य बाहिर आउनुपर्छ तर लेख्न नपाउने र प्रेसलाई रोक्ने र लेख्नै नदिने भन्ने हुँदैन, कुनै पनि बहानामा अभिव्यक्ति स्वतन्त्रता रोक्न पाइँदैन र यो प्रेस जगत्मा मात्र होइन सबै क्षेत्रमा आवश्यक रहेको भन्दै उहाँले समाजमा स्वतन्त्रता भनेको व्यक्ति स्वतन्त्रता भएको बताउनुभयो । 

देशको अर्थतन्त्र खस्कँदै जाँदासमेत सरकारले सुधारका कुनै कार्यक्रम नगरेको उहाँले बताउनुभयो । किसानले मल नपाउनु, विद्यार्थीले पाठ्यपुस्तक पाउन नसक्नु सरकारका ज्वलन्त कमजोरी भएको भन्दै उहाँले यसप्रति नेकपा (एमाले)ले खबरदारी गर्दै आएको बताउनुभयो । 

एमालेको समग्र ध्यान आगामी मङ्सिरमा हुने निर्वाचनमा केन्द्रित भएको  उपमहासचिव ज्ञवालीले बताउनुभयो । “जनमतको हिसाबले एमाले पहिलो पार्टीमा स्थापित भएको छ, यसलाई जोगाउन पार्टीले अहिलेदेखि तयारी गरेको छ,” उहाँले भन्नुभयो, “लोकप्रिय जनमत नेकपा (एमाले)को  पक्षमा छ, त्यही मतको आधारमा पहिलो पार्टी बनेको छ, हाम्रो पक्षमा जनता छन्, यही लोकप्रिय जनमतलाई रक्षा गर्दै हामी अगाडि बढ्ने छौँ ।”

उहाँले नेकपा (एमाले)को खबरदारीका कारण स्थानीय निर्वाचन सम्पन्न भएको बताउनुभयो । उहाँले सरकारले बजेट ल्याउँदा निश्चित व्यापारीको इसारामा करको दायरा फेरबदल गर्दासमेत ग्लानि महसुस नगरेको भन्दै बजेट निर्माण गर्दा व्यापारीको प्रवेश हुनु, अर्थमन्त्रीले त्यसलाई गम्भीर रूपमा नलिनुले सत्ताधारी कति जिम्मेवार छन् भन्ने प्रस्ट भएको बताउनुभयो ।