• ६ वैशाख २०८१, बिहिबार

‘आगामी आर्थिक वर्षमा दूधमा अनुदान बढ्छ’

blog

शालिग्राम नेपाल

चितवन, असार १४ गते। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आगामी आर्थिक वर्षमा दूधमा पाइने अनुदान वृद्धि हुने बताउनुभएको छ। प्रमुख दाहालले भरतपुर महानगरपालिकाले प्रति लिटर  ३ रुपियाँ दिने कार्यक्रम एकदमै प्रभावकारी बनेको भन्दै अनुदान बढ्ने बताउनु भएको हो। 

आदर्श पशुपालन तथा दूध खरिद बिक्री केन्द्र भरतपुर-८ ले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान कार्यक्रममा प्रमुख दाहालले सो कुरा बताउनुभएको हो।

कृषिमा भरतपुर महानगरपालिकाले उत्पादन बढाउने र लागत घटाउने नीति लिए अनुसार यस आर्थिक वर्षको नीति तथा कार्यक्रममा उत्पादनलाई प्रथामिकता दिएको जानकारी दिनुभयो।

‘नीति तथा कार्यक्रममा उत्पादनलाई जोड दिएका छौँ’, उहाँले भन्नुभयो, ‘भरतपुरमा ठूला उद्योग कारखाना छैनन्। त्यस कारण उत्पादन भनेको कृषि नै हो।’

भरतपुर महानगरपालिकाले दूधमा अनुदानका लागि वार्षिक ठूलो रकम खर्च गर्दै आएको छ। भरतपुर दूध उत्पादनमा आत्मनिर्भर छ।

प्रमुख दाहालले भन्नुभयो, ‘कृषकलाई प्रोत्साहन गर्न दूधमा २५ पैसा अनुदान दिन सुरु गरेका थियौं। थोरै रकमबाट भए पनि सुरुवात भएको छ। अहिले पनि अनुदान वृद्धि गर्ने सोच थियो। तर अर्को आगामी आर्थिक वर्षमा पक्का हुन्छ।’

भरतपुरको उत्पादन वृद्धि गर्न आधुनिकिरण, यन्त्रीकिकरण, व्यवसायीकरण गर्ने दिशातर्फ विगतदेखि नै केही सुरुवात भइसकेको उहाँको भनाइ छ। 

यसअघिको कार्यकालमा पूर्वाधार निर्माणलाई प्रथामिकतामा राखेर सडकको सहज पहुँच पुगेकाले उत्पादनलाई सजिलै बजारीकरण गर्न मद्दत पुगेको प्रमुख  दाहालले बताउनुभयो।

प्रमुख दाहालले भन्नुभयो, ‘पहिला बाटो-घाटा चाहिएको थियो, अहिले राम्रा बाटा बनेका छन्, अब कृषि उत्पादनलाई वृद्धि नगरे आगामी १० वर्षमा भोकमारीको अवस्था आउने अवस्था बन्छ।’ 

दाहालले यस वर्षदेखि कृषि एम्बुलेन्सको सुरुवात गरी दक्ष प्रविधिकले उपकरणसहित महानगरपालिका भित्रका कृषि फर्ममा देखिएको समस्याको समधानका लागि काम हुने जानकारी दिनुभयो। महानगरले कृषि एम्बुलेन्स सञ्चालन गर्ने यस आर्थिक वर्षमा नीति लिएको छ।