• १२ वैशाख २०८१, बुधबार

कृषिको विकास नगरे मुलुक कृषिमा आत्मनिर्भर बन्न नसक्ने : सभापति सुवेदी

blog

काठमाडौं, असार १४ गते । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति पूर्णकुमारी सुवेदीले सरकारले कृषिलाई मुख्य प्राथमिकतामा राखेर विकास नगरे मुलुक कृषिमा आत्मनिर्भर बन्न नसक्ने बताउनुभएको छ ।

सोमबार काठमाडौंमा आयोजित धानमा आत्मनिर्भर नीति संवाद कार्यक्रममा बोल्दै सभापति सुवेदीले सरकारले कृषिलाई प्राथमिकतामा राखेर कृषिको विकास नगरे मुलुक कृषिमा आत्मनिर्भर बन्न नसक्ने बताउनुभएको हो ।

उहाँले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाएर विदेशमा निर्यात गर्न नसके पनि आयातलाई प्रतिस्थापन गर्न सक्नुपर्ने बताउनु भयो । सभापति सुवेदीले नेपाललाई आवश्यक खाद्यान्नको यकिन गरी सोही अनुरुपको उत्पादन आफैँ गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले नेपालमा चलिरहेको टुक्रे र परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायीक बनाउनुपर्ने आवश्यकता भएको बताउनुभयो ।

सभापति सुवेदीले कृषिलाई आधुनिकीकरण र व्यवसायीक बनाउनको लागि सरकारले आवश्यक नीति तथा नियमावली तत्काल बनाएर सहजीकरण गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारले कृषिलाई चक्लाबन्दी, व्यवसायीकरण, आधुनिकीकरण गरेर आवश्यक सिंचाइ, उन्नत जातको बीउ र आवश्यक मल दिन सके मात्रै पनि नेपालीलाई पुग्ने धान उत्पादन गर्न समस्या नरहेको स्पष्ट पार्नुभयो ।

त्यस्तै, कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका सचिव डा.गोविन्द प्रसाद शर्माले राष्ट्रिय उत्पादनलाई वृद्धि गर्नु नै अहिलको आवश्यकता भएको बताउनुभयो । उहाँले धानको उत्पादन बढाउनको लागि परम्परागत धानको जात परिर्वतन गरी हाईब्रिड बीउमा जानुपर्ने बताउनु भयो । सचिव शर्माले वर्षे धान भन्दापनि सरकारले चैते धानको उत्पादन बढाउनको लागि प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

सचिव शर्माले पहाडी क्षेत्रमा खाद्यान्न उत्पादन वृद्धि गर्नको लागि सरकारले बाँझो जमिन र युवा लक्षित कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । उहाँले सरकारले नीति नै बनाएर कृषियोग्य जमिनलाई गैरकृषि प्रयोजन गर्न दिन नहुने बताउनु भयो ।