• ६ चैत २०८०, मङ्गलबार

दमक नगरपालिका बाढीको उच्च जोखिममा

blog

वर्षाका कारण दमकको रतुवा खोला, तस्विर– विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल

दमक, असार १४ गते । रतुवा र मावा खोलाको बीचमा रहेको दमक नगरपालिका लगातरको वर्षाका कारण बाढीको उच्च जोखिममा परेको छ । रतुवा र मावा वस्तीमा पस्न थालेपछि जनप्रतिनिधि, सुरक्षाकर्मीलगायतको टोली खोला किनारमा तत्काल बाढी नियन्त्रणको प्रयासमा छन् ।

मङ्गलबार बिहानबाट आएको वर्षाका कारण दमक ७ रतुवा खोलाको किनार दमक १० अति प्रभावित भएको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले बताउनुभएको छ । वर्षा नरोकिएसम्म केही गर्न सक्ने अवस्था छैन र खतरा भने बढिरहेको छ, नगरप्रमुख थापाले भन्नुभयो ।

दमक ७ पूर्वपश्चिम लोकमार्ग र रतुवापुल किनारमा कटान तीव्र छ । अहिले तीव्र कटान भइरहेको बाँधसहितको सडक भत्कने खतरा रहेकाले यसमा सबै निकायको ध्यानाकर्षण गराएको पनि उहाँ बताउनुहुन्छ, ‘बाँध बनाउने कार्यमा वर्षाले समस्या भएको छ ।’

सङ्घीय सांसद महेन्द्रकुमारी सुब्बा, दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराईलगायतले खोला आसपासका बासिन्दाहरुले सतर्कता अपनाउन अनुरोध गर्दै आफूहरुले खोला नियन्त्रणका लागि आवश्यक पहलकदमी गरिरहेको बताउनुभयो । 


कटान  र बाढीका कारण अति जोखिममा परेका केही घरका सामग्रीहरु बाहिर निकाल्ने काम भएको र जोखिम क्षेत्रमा नरहनका अनुरोध गरिएको दमक वडा नं ७ का वडाध्यक्ष भीम पौड्यालले बताउनुभयो । हामीले गर्नसक्ने र सम्भव भएको काम गरिरहेका छौँ, उहाँले भन्नुभयो ।