• १६ चैत २०८०, शुक्रबार

‘स्पष्ट लक्ष र कार्ययोजना साथ काम गरे सफलता मिल्छ’

blog

गोरखापत्र अनलाइन 

काठमाडौं, असार १३ गते । स्थानीय तहका जनप्रतिनिधिहरूले उत्प्रेरित गरेर जनतालाई विकास निर्माणमा लगाउनु पर्नेमा सुझाव विज्ञहरूको छ । साथै नवनिर्वाचित जनप्रतिनिधिले स्पष्ट लक्ष र कार्ययोजनाका साथ काम गरेमा सफलता मिल्ने विश्वास उहाँहरूको छ । 

‘नीति र नैतिकता बाग्मती प्रदेशको प्राथमिकता उत्प्रेरणात्मक कार्यक्रम’ लाई सोमबार सम्बोधन गर्ने वक्ताहरुले यस्तो विचार व्यक्त गर्नुभएको हो । तारकेश्वर नगरपालिकास्थित नेपालटारमा रहेको एन.आर. कलेजले आयोजना गरेको कार्यक्रममा वक्ताहरूले विद्यार्थीहरूले पनि जीवनको लक्ष्य तयर गरेर ठोेस योजनाका साथ अगाडि बढेमा सफल हुन सजिलो हुने विचार राख्नुभयो । 

नगरपालिकाका प्रमुख हरिकृष्ण महर्जनले विगतका कामको दोष आफूलाई नदिन र अब हुने कार्यलाई राम्रो गरेर लैजाने अठोट व्यक्त गर्नुहुँदै शैक्षिक क्षेत्रको सुधारका लागि लागिपर्ने बताउनुभयो । उहाँले सामुदायिक विद्यालय र कलेजहरूको भौतिक तथा शैक्षिक गुणस्तर वृद्धिका लागि नगरपालिकाले पहल गर्ने विश्वास व्यक्त गर्नुभयो । 


कार्यक्रममा बोल्ने विभिन्न विद्यार्थी सङ्गठनका नेताहरूले नगरपालिकाले कसैलाई काखा र कसैलाई पाखा गर्न नहुने धारणा राख्दै समान व्यवहार गर्न नगरपालिकाको नेतृत्वसँग आग्रह गर्नुभयो । यसरी धारणा राख्ने विद्यार्थी नेताहरूमा परोपकार अधिकारी, सुरेश अधिकारी, सन्तोष घिमिरे हुनुहुन्छ । 

एन.आर. कलेज सञ्चालक समितिका अध्यक्ष चित्रवरध्वज थापाको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख राजीप धिताल, पूर्व क्याप्पस प्रमुख धनलाल महर्जन, प्राध्यापक श्यामकृष्ण बिष्ट, नवीन कटवाल, कृष्णराज कट्टेललगायतले शिक्षा क्षेत्रको विकास र विद्यार्थीले ध्यान दिनुपर्ने विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।