• ८ वैशाख २०८१, शनिबार

संविधानको कार्यान्वयनबाटै समाजवादमा पुग्न सकिन्छ : नेता पौडेल

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार १३ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको पूर्ण कार्यान्वयन भए मात्र समाजवादको जग बसाल्न सकिने बताउनुभएको छ । सोमबार राजधानीमा आयोजित नेपालमा समाजवाद : चुनौती र सम्भावना विषयमा धारणा राख्नुहुँदै उहाँले संविधानले महिला, दलित, अल्पसंख्यक, मुसलमान, दुर्गम एवम् ग्रामीण क्षेत्रलाई अधिकार प्रदान गरेको बताउनुभयो । 

“न्याय, स्वतन्त्रता र समानता कसरी प्राप्त गर्ने भन्ने उत्तर फेरिन्छन् तर प्रश्न शाश्वत् हुन्छन् । निमुखाले न्याय र विपन्नले आय पाउनुपर्छ भनेर मैले भन्नेगरेको छु । मानिस–मानिसबीचको विभेद अन्त हुनुपर्छ । संविधान पूर्ण कार्यान्वयन भयो भने समाजवादको जग बसाल्न सक्छौं”, पौडेलले भन्नुभयो ।

विगतमा कम्युनिष्ट पार्टीको सरकारले संविधान अर्थात् समाजवादको जग भत्काउने दुस्साहस गरेको टिप्पणी गर्नुहुँदै उहाँले त्यो बचाउन गठबन्धनको आवश्यकता परेको धारणा राख्नुभयो । संसार गतिशील रहेको र अब पनि पुरानै शब्दजालमा अल्मलिन नहुने उहाँको भनाइ छ । अहिले कांग्रेस र कम्युनिष्टबीचको प्रतिष्पर्धा वा लडाइभन्दा राजनीतिक स्थायित्व मुख्य विषय रहेको बताउनुभयो ।