• ६ चैत २०८०, मङ्गलबार

काँडामा रोपेको दुई वर्षमै फल्यो स्याउ

blog

दुई महिनामै फल्न सुरु गरेको नयाँ जातको गोल्डेन स्याउ । तस्बिर - शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, असार १३ गते । खप्तड छेडेदह गाउँपालिका वडा नं १ काँडाका बीरबहादुर रावलले रोपेको दुई वर्षमै स्याउ फल्न सुरु भएको छ ।

२०७७ सालको फागुन महिनामा इटालीबाट ल्याएको फुँजी, गाला र गोल्डेन जातको स्याउ लगाएको दुई वर्षमै फल्न सुरु गरेको हो ।

खप्तड छेडेदह गाउँपालिका वडा नं १ काँडाका स्थानीय बीरबहादुर रावलले कृषि ज्ञान केन्द्रको अनुदानमा एक हजार तीन सय र आफ्नो व्यक्तिगत लगानीमा सात सय नयाँ जातको स्याउको बोट रोपेको दुई वर्षमै फल्न सुरु भएको बताउनुभयो ।

 उहाँका अनुसार जिल्लाको पूर्वीउत्तर क्षेत्रमा मात्र स्याउ फल्ने गरेको स्याउ जिल्लाको तल्लो क्षेत्रमा पनि फल्न सक्छ, भन्ने सोचका साथ मैले परीक्षणका लागि कृषि ज्ञान केन्द्र र व्यक्तिगत लगानीबाट इटालीको स्याउ ल्याएर रोपेको हो । स्याउ रोपेको दुई वर्षमै फल्न सुरु भएपछि तल्लो क्षेत्रको काँडा, पनि स्याउ फल्दोरहेछ भन्ने थाहा भएको बताउनुभयो ।

पुर्खाले त्यो ठाउँमा स्याउ खेतीको अनुमान नै गरेका थिएनन्, मैले यो ठाउँमा स्याउखेती गरेपछि अहिले स्याउ राम्रोसँग फलेपछि यो कुराको प्रमाणित नै भएको बीरबहादुर रावलले बताउनुभयो ।

सामुद्रिक सतहबाट झण्डै बाह्र सय मिटर उचाइमा रहेको खप्तड छेडेदह गाउँपालिका १ काँडाको धौलछडामा इटालीबाट ल्याएको फुँजी, गाला र गोल्डेन जातको स्याउ लगाएको दुई वर्षमै राम्रो फल्न थालेपछि बीरबहादुर रावल मात्र नभएर त्यहाँका अन्य स्थानीयहरुमा निकै खुःसी छाएको छ ।

काँडाको धौलछडामा सधैँ बाँझो रहँदै आएको जमिनमा रावलले अहिले नयाँ प्रविधिको स्याउ खेती गर्दै आएकाले त्यहाँका अन्य स्थानीयलाई स्याउखेती गर्न निकै उत्प्रेरित गराएको छ । 

कृषि ज्ञान केन्द्र बाजुराको आर्थिक सहगोगमा २०७७ को फागुनमा रोपेको स्याउ २०७९ को वैशाखमै फल्नथालेपछि बीरबहादुर रावलको मुहारमा अहिले निकै खुशी छाएको हो ।

ठूलो लगानीमा स्याउखेतीको परीक्षण गरेका रावलले कि लगानी डुब्ने पो होकी भन्ने चिन्ता लिएका थिए । तर लगाएको दुई वर्षमा नै स्याउ राम्रो फलेपछि बीरबहादुर रावलको मुहारामा निकै खुशी छाएको हो ।

परीक्षणको रुपमा नयाँ प्रविधिको फुँजी, गाला र गोल्डेन जातको स्याउ लगाएको दुई वर्ष भित्रै त्यसले राम्रो नतिजा दिएपछि स्याउखेतीलाई नै बढी प्राथमिकता दिने बीरबहादुर रावलले बताउनुभयो ।

रावलले भन्नुभयो, लगाएको दुई हजार स्याउको बोट सबै राम्ररी फलेका छन् ।  एक बोटमा झण्डै २० केजीसम्म स्याउ छ । यो स्याउ अर्गानिक भएकाले पनि अहिले स्थानीय बजारमा नै विक्री हुन्छ ।  

बाजुराको तल्लो क्षेत्रका कुनै पनि मानिसले कल्पना नगरेकै स्याउ खेती बीरबहादुर रावलले गरेर नै देखाएपछि तल्लो क्षेत्रका त्रिवेणी, बूढीगंगा खप्तड छेडेदह गाउँपालिकाका स्थानीय निकै चकित भएको काँडाका स्थानीय वयोवृद्ध गोरे रावलले बताउनुभयो ।

अहिले त स्याउ ए दमै राम्रोसँग फलेको छ, कुनै पनि रोग लागेको छैन न त कीराले काटेको छ न त अन्य केही रोगले असर पारेको छ । यो वर्षमा स्याउमा केही रोग नदेखे पनि पछिल्लो वर्षमा रोग लाग्न सक्छ, त्यसैले यसबाट बच्नका लागि प्राविधिकहरुको सुझाव सल्लाहको अति आवश्यक रहेको बीरबहादुर रावलले बताउनुभयो ।

रावलले २०७८ सालमा पनि जुम्लाबाट पाँच हजार स्याउका बोट ल्याएर झण्डै ८० रोपनीमा रोपेका थिए । 

त्यो स्याउ भने अहिले फल्न सुरु गरेको छैन । अहिले प्रत्येक बोटमा एक दुई दाना फल्न थालेको छ ।

८० रोपनीमा लगाएको स्याउ केही वर्षमा राम्रो फलेपछि त्यो स्याउलाई बजारसम्म पुर्याउनका लागि पक्की सडकको आवश्यक भएको रावलले बताउनुभयो ।

लगाएको सबै स्याउ फल्न सुरु भएपछि गाउँमा रहेका बेरोजगार युवालाई जागिर दिन सक्ने रावलले बताउनुभयो ।

छेडेदह गाउँपालिका वडा नं १ काँडाको दुई पटक वडाध्यक्ष समेत बनेका बीरबहादुर रावलले यसअघि पनि फलफूल, तरकारी, बाख्रापालन गर्दै आउनुभएको थियो ।

फुँजी, गाला र गोल्डेन जातको स्याउ अरुभन्दा, बढी फल्ने, अरुको भन्दा बढी मूल्य पर्ने र पोषकतत्व पनि अरुभन्दा बढी हुने भएकाले यो स्याउखेतीले स्थानीयको आयआर्जनमा छिट्टै वृद्धि हुने देखेपछि कृषकलाई स्याउखेती गर्न उत्प्रेरित गर्दै आएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।