• ६ चैत २०८०, मङ्गलबार

नेपाली चलचित्र प्रदर्शनलाई प्राथमिकता

blog

नेपाल चलचित्र कलाकार सङ्घद्वारा आयोजित नेपाल चलचित्र क्षेत्रको समस्या र चलचित्रकर्मीको अवस्था विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागी सङ्घका सदस्य तथा कलाकार । तस्विर : सागर बस्नेत

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १३ गते । नेपाल चलचित्र कलाकार सङ्घको आयोजनामा नेपाली चलचित्र क्षेत्रको समस्या र चलचित्रकर्मीहरूको अवस्था विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।सङ्घका अध्यक्ष रवीन्द्र खड्काको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य सचिव टङ्क महतले विकास बोर्डले समग्र चलचित्र उद्योग र चलचित्रकर्मीहरूको उत्थानमा प्रयासरत् रहेको बताउँदै छिट्टै प्रभावकारी चलचित्र नीति ल्याउने कार्य गरिरहेको बताउनुभयो ।

कार्यक्रममा चलचित्रकर्मी मोहन निरौला र सञ्चारकर्मी शान्तिप्रियले तयार गर्न‘भएको अवधारणा पत्र प्रस्तुत गरिएको थियो । अवधारणा पत्रमा अधिवक्ता कृष्ण ढुङ्गाना, सञ्चारकर्मी कृष्ण भट्टराई, सङ्गीतकार सन्तोष श्रेष्ठ र सञ्चारकर्मी डब्बु क्षेत्रीले आ–आफ्नो कुराहरू राख्नुभएको थियो ।

चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष दयाराम दाहालले बोर्डले महामारीको मारमा परेका चलचित्रकर्मीहरूलाई थोरै भए पनि राहत दिएको र आफ्नो कार्यकालमा चलचित्रकर्मीहरूको उत्थान र प्रोत्साहनका लागि स्टोरी बैङ्कको अवधारणा कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो । 

अभिनेता गोपाल ढकालले सहजीकरण गर्न‘भएको कार्यक्रममा अभिनेता कृष्ण मल्ल, भुवन केसी, लय सङ्ग्रौला, निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारी, निर्देशक समाजका महासचिव जनकदीप पराजुली, चलचित्र सङ्घका पूर्वअध्यक्ष प्रदीप उदयलगायतका वक्ताहरूले चलचित्र कलाकार सङ्घले चलचित्र कलाकार र उद्योगका प्रवद्र्धनका लागि आवाज उठाउँदै आएको स्मरण गर्दै अविलम्ब चलचित्र नीति निर्माण भएको भए कार्यान्वयनमा ल्याउनुपर्ने नभए निर्माण गरिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा वक्ताहरूले विदेशी चलचित्रको प्रदर्शनमा मापदण्ड बनाई नेपाली चलचित्र प्रदर्शनलाई विशेष प्राथमिकता राख्नुपर्ने जनाउनुभयो ।