• ६ चैत २०८०, मङ्गलबार

लगानी कोषले प्रतिफल दिने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १३ गते  । नागरिक लगानी कोषले कोषका कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषमा सहभागीलाई बचत रकममा १ दशमलव ५ प्रतिशत थप प्रतिफल प्रदान दिने भएको छ । कोष सञ्चालक समितिको शनिबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।  कोषले कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका करिब दुई लाख ९८ हजार सहभागीलाई कोषको आव २०७७/७८ सम्मको मुनाफाबाट उक्त प्रतिफल दिने भएको हो ।

२०७८ असार मसान्तसम्मको बचत रकममा सञ्चित मुनाफाबाट १ दशमलव ५ प्रतिशतका दरले थप प्रतिफल दिँदा सहभागीको खातामा एक अर्ब ७४ करोड रुपियाँ जम्मा हुनेछ । प्रतिफलबाट प्राप्त रकम कोषमा रहेको सहभागीको खातामा जम्मा गर्ने व्यवस्था कोषले गरिसकेको जारी विज्ञप्तिमा उल्लेख छ । 

लगानी सम्झौता

काठमाडौँ (गोरखापत्र), असार १२ गते । नेपाल उद्योग परिसङ्घ युवा उद्यमी मञ्चले आयोजना गरेको नवप्रवर्तन मेलामा २४ करोड ५० लाख रुपियाँ लगानी गर्ने प्रारम्भिक सम्झौता भएको छ । शनिबार काठमाडौँमा सम्पन्न मेलाको अन्तिम प्रतिस्पर्धामा पुगेका स्टार्टअपसँग प्रारम्भिक लगानीको सम्झौता भएको परिसङ्घले जनाएको छ ।

नेपाल उद्योग परिसङ्घ युवा उद्यमी मञ्चले स्टार्टअप फेस्टमा सहभागी हुन परियोजनासहित लगानी प्रस्ताव आह्वान गरेको थियो । स्वपुँजी लगानीसम्बन्धी प्रारम्भिक सम्झौता भएका स्टार्टअपमा भक्सक्रो, स्किल सेवा प्राइभेट लिमिटेड, टिम बेदा, खेती, डार्कम्याटर गेम प्रडक्सन, डिजिटल एज नेपाल, डक्टर्स अन कल छन् ।  

स्वास्थ्य शिविर 

काठमाडौँ (गोरखापत्र), असार १२ गते । ग्लोबल आईएमई बैङ्कले ‘ग्लोबल आईएमई स्वस्थ नारी पहल अभियान’अन्तर्गत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न छ स्थानमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ । पश्चिमरुकुमको मुसीकोट, सुर्खेतको वीरेन्द्रनगर, बैतडीको पञ्चेश्वर, डोटीको पूर्वीचौकी, दार्चुला को महाकाली र दैलेखको नारायण नगरपालिकामा स्वास्थ्य शिविर आयोजना गरिएको सो बैङ्कले जनाएको हो । स्वास्थ्य शिविरमा ७५७ जना महिलालाई स्त्रीरोगसम्बन्धी विभिन्न सेवा निःशुल्क रूपमा उपलब्ध गराइएको थियो ।