‘मारुनी नाच बचाऔँ’

रामपुर (पाल्पा),  मङ्सिर ८ गते  । मगर समुदायमा प्रचलित लोकप्रिय मारुनी नाच लोपोन्मुख अवस्थामा रहेका बखत फोक्सिङकोटका युवा संस्कृति बचाऔँ अभियानमा जुटेका छन् ।  पछिल्लो समय समाजमा पश्चिमी संस्कृतिको प्रभावले मारुनी नाच मगर समुदायबाट लोप हँुदै छ । विवाह, पास्नी, धार्मिक तथा सामाजिक कार्य र अन्य विभिन्न कार्यक्रममा गाउँका युवालाई साडी, चोलो, फरिया, पाउजु, पटुकी लगाई सिङ्गारपटार गराई मारुनी नाच देखाइने गरिन्छ । मारुनी नाचका मुखियालाई रौरा भनिन्छ । 


स्थानीयवासी एवत सारु भन्नुहुन्छ, “मारुनी नाचबाट सङ्कलन भएको रकम गाउँको खानेपानी योजनामर्मत, सडकमर्मत, शिशु शिक्षा भबन र सामुदायिक भबन निर्माण तथा मर्मतलगायत विकास निर्माणका कार्यमा खर्च गर्ने गरेका छौँ ।” “एक वर्षमा मारुनी नाचबाट रु एक लाख बराबरको हाराहारीमा रकम सङ्कलन हुने गरेको छ,” उहाँले भन्नुभयो ।

गाउँमा विशेष अवसरमा देखाइने मारुनी नाच हेर्नेको घुइँचो लाग्छ । मारुनी नाच जिल्लाको मगर वस्ती रहेको ३० भन्दा बढी गाविसमा नाच्ने प्रचलन थियो । अन्य नाचको तुलनामा यो नाच खर्चिलो र झन्झटिलो भएकाले नयाँ पुस्ताले अनुसरण गर्न सकेको छैन । फोक्सिङकोटको रानीवासमा युवाको सक्रियतामा दसैंको कोजाग्रत पूर्णिमा, तिहारको भोलिपल्ट, हरिबोधनी एकादशी र मङ्सिरे पूजाका दिन तथा अन्य सामाजिक, धार्मिक कार्यमा मारुनी नाच देखाइने गरिन्छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना