जटिलताबीचको सम्बोधन

lokesh dhakal_1लोकेश ढकाल

नेकपा (एमाले) का अध्यक्ष के.पी. शर्मा ओलीले मुलुकको ३८ औं प्रधानमन्त्रीका रूपमा सपथ लिएको आज ४२ औं दिन हो । प्रधानमन्त्री वा मन्त्रिपरिषद्को कामकारबाहीमाथि यति छिटै कुनै विरोध, समीक्षा वा टिप्पणी गर्ने इच्छा नहुँदा–नहुँदै पनि प्रधानमन्त्री ओलीको कार्यशैली र अभिव्यक्तिका कारणले ती माथि प्रतिक्रिया नदिई बस्न सक्ने राजनीतिक अवस्था रहेन । विशेष गरेर ओलीको गत साता देशबासीका नाममा आएको सन्देशले सिर्जना गरेका कतिपय आशङ्का, अन्यौल र सरकारको कार्यशैलीमाथि यो छोटो प्रतिक्रिया दिने प्रयास गरेको छु ।
यो पङ्तिकार नेपाली काँग्रेसको कार्यकर्ता पनि हो भन्ने कुरा आम–पाठकलाई बताइरहन परेन । तथापि देश र जनताको हितमा ओली नेतृत्वको सरकार सफल रहोस् भन्ने कामना मैले गर्दै आएको छु । वर्तमान राजनीतिक परिवेशमा नेपाली काँग्रेसले ओलीलाई प्रधानमन्त्री बनाउन सहयोगी बन्दै काँग्रेस सशक्त प्रतिपक्षमा बस्नु पथ्र्यो भन्ने विचार यस अघिका लेखहरूबाट मैले प्रष्ट गरेको कुरा यहाँ स्मरण गराउन चाहन्छु । काँग्रेस सभापति एवं तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले एमाले अध्यक्ष ओलीसँग प्रधानमन्त्री पदमा प्रतिस्पर्धा गर्ने घटना एउटा ऐतिहासिक भूल थियो भनेर दोहो¥याउन चाहन्छु । जे जसरी होस् एमालेका अध्यक्ष ओलीले राष्ट्रवादको कवच पहिरिएर प्रधानमन्त्री बनिरहँदा मैले जस्तै आम जनताले उहाँबाट ठूलो अपेक्षा गरेका थिए । तर ओलीको आधा मधुमास पूरा हुँदै गर्दा सरकारको कार्यशैली, स्वयं प्रधानमन्त्री र उहाँको गठबन्धन दलका नेताहरूको अभिव्यक्ति र कार्यशैलीलाई नियालेर हेर्दा सरकार जनताको अपेक्षा पूरा गर्न असफल हुने त होइन भन्ने अनुभव हुँदैछ ।
मधेस आन्दोलन र भारतीय नाकाबन्दीले सिर्जना गरेको समस्यालाई सम्बोधन गरेर सामान्य आपूर्ति व्यवस्था कायम गर्न र राजनीतिक जटिलतालाई अन्त्य गर्न ओली सफल हुनु हुनेछ भनेर अभाव र सङ्कटका बीचमा पनि विगत ६ हप्तासम्म राष्ट्रवादी भावनामा डुबेर आम नेपाली जनता सरकारको समर्थन गरेर बसेका हुन् । भारत सरकारले अनावश्यक रूपमा नाकाबन्दी लगाएर नेपालमा मानवीय सङ्कटको अवस्था सिर्जना भएको छ, जनताले चौतर्फी, अभाव र आहत व्यहोर्नु परिरहेको छ । स्वाभिमानी जनताले कष्ट सहेर पनि सरकारको पक्षमा दृढतापूर्वक उभिएका छन् तर प्रधानमन्त्री पदको सपथ लिएको ३७ औं दिनमा देशवासीका नाममा प्रधानमन्त्री ओलीले दिएको सम्बोधनले राष्ट्रवादी बर्को ओडेर दुःखसाथ बसेका आम जनतालाई निराशा गर्ने बाहेक त्यस्तो केही आशा र उत्साह दिन सकेन ।
अहिले नेपाली काँग्रेस प्रमुख प्रतिपक्षको बेञ्चमा त आइपुग्यो तर स्वाभाविक बाटोबाट नभै पछारिएर आइपुग्यो । राजनीनिक दुर्घटनाको बाटो रोजेको कारणले काँग्रेसको पोल्टामा पर्ने सम्भावना रहेको राष्ट्रपति पद समेत काँग्रेसले गुमाउन पुग्यो । यति हुँदाहुँदै पनि बिग्रिएको थिएन । संसद्को दोस्रो ठूलो दल नेकपा (एमाले)का अध्यक्ष ओलीको नेतृत्वमा सरकार र संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेस प्रमुख प्रतिपक्ष बेञ्चमा आइपुगेको छ । यसलाई संसदीय पद्दति मुताविकको स्वाभाविक राजनीतिक अभ्यासको रूपमा लिनुपर्छ । सरकार मधेसको द्वन्द्वलाई सम्बोधन गर्न, वर्तमान राजनीतिक जटिलताहरूलाई दूर गर्दै संविधानको सफल कार्यान्वयन गर्न सफल बनोस्, काँग्रेस संविधानलाई सफल कार्यान्वयन गर्न सरकारको सहयोगी बन्न र सरकारलाई गुण र दोषको आधारमा विरोध र समर्थन गर्न सशक्त प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गरोस् भन्ने यो लेखकको कामना थियो तर सरकारको करिब डेढ महिनाको कार्यसम्पादन, प्रधानमन्त्री, आधा दर्जन उप्रधानमन्त्री र मन्त्रीहरूको गैह्रजिम्मेवार अभिव्यक्ति, नेपाली राजनीतिमाथि मडारिएको अनिश्चितता र विदेशीको चलखेल र पछिल्लो प्रधानमन्त्रीको देशवासीका नाममा आएको सम्बोधन आदिलाई विश्लेषण गरेर हेर्दा लाग्छ, राजनीतिको गल्ली र बन्द कोठाहरूमा सरकारको विकल्पको चर्चा सुरू भइसकेको छ । ओलीको लागि मात्र होइन यो देशकै राजनीतिक भविष्यको लागि राम्रो सङ्केत होइन ।
निश्चयः नै ओली सामान्य राजनीतिक अवस्थामा प्रधानमन्त्री बन्नुभएको छैन । भारतको अनिच्छा हुँदाहुँदै कथित फाष्टट्रयाकमा संविधानसभाले संविधान जारी गरेपछि संविधान निर्माणको चरणबाट नै बाहिर बसेको मधेस केन्द्रित दलहरूको कथित आन्दोलन र त्यसकै आधारमा भारतले लगाएको अघोषित नाकाबन्दीले सिर्जना गरेको जटिल राजनीतिक परिस्थितिमा नवराष्ट्रवादको लहरमा जनताको अपार विश्वास र भरोसाको आडमा प्रधानमन्त्री बन्नुभएको हो तर उहाँले जनताको भरोसा बमोजिम डेढ महिनामा उहाँको सम्बोधनले जनतालाई धैर्य गरेर बस्ने सल्लाह दिने बाहेक केही दिन सक्नुभएको छैन ।
प्रधानमन्त्रीले छिमेकी देशसँग द्वन्द्व बढाउने गरी दिनदिन नै समाचारमा आइरहनु भन्दा देश र जनताप्रति गम्भीर बनेर समाधान पहिल्याउनेतर्फ आफ्नो शक्ति लगाउनु पथ्र्यो तर त्यसो नगरी प्रधानमन्त्रीका हैसियतमा भन्दा एमाले अध्यक्षका हैसियतमै दिनदिनै बोलेर राजनीतिक वातावरणलाई थप उत्तेजित बनाइरहनु भएको छ । उहाँको ४५ मिनेट लामो सम्बोधनले पनि देशको राजनीतिक समस्याको बेलिविस्तार गर्ने बाहेक वर्तमान राजनीतिक जटिलताको अन्त्य गर्न कुनै समाधान दिन सकेन ।
देश चलाउनु कार्यकर्ताको गडगडाहट ताली खाएर आनन्द लिए जस्तो सजिलो हुँदैन । पार्टी कार्यकर्ता भेला वा कुनै जनसभामा तिलस्मी शैलीमा भाषण गरेर जनतालाई तत्कालका लागि आकर्षित गरेजस्तो होइन सरकार सञ्चालन गर्ने कार्य । सरकार बाहिर बसेर जति नै गुड्डी हाँके हुन्छ तर सरकारमा बसेपछि जिम्मेवार भएर बोल्नुपर्छ । प्रधानमन्त्रीको अभिव्यक्तिमा प्रधानमन्त्री पद अनुरूपको गाम्भीर्यता र जिम्मेवारीपन धेरैले महसुस गरेनन् ।
नेपालले एक सय वर्षमा जम्मा ७५० मेगावाट विद्युत् उत्पादन गरेको छ । विज्ञहरूले अहिले उपल्लो तामाकोशी परियोजनासहित पाइपलाइनमा रहेका सबै विद्युत् आयोजना सम्पन्न भएर राष्ट्रिय प्रशारण लाइनमा जोडियो भने दुई वर्षभित्र अहिलेको तुलनामा लोडसेडिङ निकै कम हुन्छ तर लोडसेडिङ समाप्त हुन सम्भव छैन । यसै पनि भूकम्पको प्रभाव र अहिलेको नाकाबन्दीको कारणबाट विद्युत् आयोजनाहरू प्रभावित भएका छन् । यस्तो अवस्थामा एक वर्षभित्र नेपालबाट लोडसेडिङ समाप्त गर्छु भनेर जनताका बीचमा भाकल हाल्नु पत्यारिलो छैन ।
प्रधानमन्त्रीले एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्न एक वर्षभित्र सौर्य ऊर्जाबाट २०० मेगावाट विद्युत् उत्पादन गर्ने कुरा पनि उल्लेख गर्नुभएको छ । त्यसैगरी अघिल्लो सरकारले भूकम्प पीडित परिवारलाई प्रति परिवार रू. दुई लाख दिने भनेर घोषणा गरे अनुसार रकम दिने समेत घोषणा गर्नुभएको छ ।
प्रधानमन्त्रीले आम जनतालाई अमुर्त रूपमा घोषणा गरेर मात्र हुँदैन । एक वर्षभित्र कुन कुन परियोजनाबाट कति विद्युत् उत्पादन सम्भव हुन्छ ? सौर्य ऊर्जाबाट एक वर्षभित्रमा २०० मेगावाट विद्युत् उत्पादन के कसरी र त्यसको प्राविधिक पक्ष र बजेटको व्यवस्थापन के कसरी हुन्छ ? त्यसै पनि प्रधानमन्त्री आफैंले पनि स्वीकार गर्नुभएको छ कि भूकम्पको भन्दा ठूलो क्षति अहिले तराई आन्दोलन र भारतीय नाकाबन्दीबाट भएको छ । यस्तो जटिल राजनीतिक अवस्थामा लामो भाषण गर्नुभन्दा स्पष्ट कार्य योजना र बजेटको स्रोतसहित यसरी एक वर्षभित्र भूकम्प पीडितलाई राहत सहयोग दिइने छ, २०० सय मेगावाट सौर्य ऊर्जाबाट विद्युत् निकालिने छ र एक वर्षभित्र यसरी लोडसेडिङको अन्त्य गरिने छ भनेर विश्वासिलो आधार विना आएको सम्बोधनले म त विश्वस्त हुन सकेको छैन भने आम जनताले कसरी विश्वास गर्ने ? प्रधानमन्त्रीले कसैगरी यस विषयमा प्रष्ट पारिदिनु भयो भने म सहित आमजनता आभारी हुने थिए ।
नेपाली काँगे्रस आफ्नो १३ औं महाधिवेशनको तयारीमा जुटेको छ । यस्तो अवस्थामा संसद्मा प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्नु र तोकिएको तालिकाअनुसार महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नु नेपाली काँग्रेसको अहिले प्राथमिक कार्यभार वा जिम्मेवारी हो । कथित भद्र सहमतिलाई बेवास्ता गर्दै मेरो नेताले प्रधानमन्त्रीमा लोभ गरेजस्तै ओलीको असफलताबाट हौसिएर काँग्रेसका नेताहरू सत्ताको राजनीतिमा नकुद्नु र पार्टीको महाधिवेशन नबिथोलियोस् । ओलीको सत्ता लामो टिकोस्, देशलाई नेतृत्व दिन सफल हुनुहोस् । काँग्रेसकै हितका लागि पनि कमसेकम ओली नेतृत्वको सरकार काँग्रेसको महाधिवेशनसम्म त टिकोस् भन्ने कामना गर्दछु ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना