नुवाकोटमा २४ हल गोरु जुधाउने तयारी

त्रिशूली(नुवाकोट), पुस २६ गते । यस वर्ष पनि मकर सङ्क्रान्तिमा गोरु जुधाउने तयारी पूरा भएको छ । तारुका र बेत्रावतीमा हरेक वर्ष मकरसङ्क्रान्तिमा गोरु जुधाएर मनोरञ्जन लिने गरिन्छ । तारुका–५ चन्दनीको बारीको ठूलोपाटोमा यस वर्ष १६ हल गोरु जुधाउनका लागि गोरुधनीले दर्ता गरिसकेको माघेसङ्क्रान्ति मेला व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर बखरेलले जानकारी दिनुभयो ।

तारुकामा गोरु जुधाउने परम्पराको थालनी कहिले भएको आधिकारिक तिथिमिति कतै नभेटिए पनि स्थानीय बूढापाकाका अनुसार यो करिब दुई सय वर्ष पुरानो मानिन्छ । बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह मावली जाँदा उनको मनोरञ्जनका लागि गोरु जुधाएर देखाइएको बताइए पनि प्रमाणित भएको छैन । हिउँदमा फुर्सदका समयमा किसानले मीठो मसिनो खाएर गोरु जुधाएर मनोरञ्जन लिने परम्पराको थालनी भएको स्थानीय शिक्षक लोचन भट्टराईले बताउनुभयो ।

पहिले तारुका, बुधसिङ, रातमाटे, दुईपिपललगायत गाविसमा पनि गोरु जुधाउने गरिएकामा अन्यन्त्र परम्परा हराइसकेको छ भने तारुकाले व्यवस्थित गरेर परम्परालाई निरन्तरता दिइरहेको छ । तारुकामा पछिल्लो १२ वर्षदेखि मेला व्यवस्थापन गरी एकै स्थानमा गोरु जुधाइँदै आएको छ । मेलामा हरेक वर्ष नुवाकोट, रसुवा, काठमाडौंँ, धादिङका गरी हजारौंँको सङ्ख्यामा दर्शकको सहभागिता हुने गरेको छ ।

यस्तै नेपालको इतिहासमा लेखिएको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको थलो बेत्रावतीमा पनि गोरु जुधाइ हुने भएको छ । पछिल्लो छ वर्षदेखि बेत्रावतीमा माघेसङ्क्रान्तिमा गोरु जुधाइँदै आएको छ । यस वर्ष आठ हल गोरुको दर्ता भइसकेको र अन्य गोरु धनी पनि आउने क्रममा रहेको आयोजक गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष सुरज लबटले जानकारी दिनुभयो ।

गोरुको बिमा

यस वर्ष गोरुको बिमासमेत गरिएकाले किसानले ढुक्क भएर आआफ्ना गोरु जुधाउन सक्ने लबटले जानकारी दिनुभयो । किसानहरुले स्वतस्फुर्त रुपमा पालेका गोरुलाई प्रतियोगिता र मनोरञ्जनका रुपमा मात्र नलिई गोरुधनीलाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको डङ्गोलले बताउनुभयो । प्रतियोगितामा सामेल भएका गोरुहरु शारीरिक रुपमा अशक्त भएमा वा सिँगमात्रै भाँचिएमा पनि बिमाको व्यवस्था गरिएको छ ।

गोरु जुधाइको मनोरञ्जनलाई मात्र नलिएर यसलाई मानिसहरुबीचको आपसी भेटघाट र सद्भाव वृद्धिका रुपमा पनि प्रबद्र्धन गर्नुपर्ने सञ्चारकर्मी विष्णु तारुके बताउनुहुन्छ । रासस

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना