• १६ चैत २०८०, शुक्रबार

बनेन सडक, थापियो धराप

blog

अविरल वर्षासँगै आएको बाढीले जलमग्न कपनस्थित सडक । लामो समयदेखि ढलान नगरी सडकमा अलपत्र छाडिएका डण्डीले दुर्घटना निम्त्याउने गरेको छ ।

काठमाडौँ, असार ११ गते  । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१२, कपन बस्ने भीमलादेवी कोइरालाले शुक्रबार बिहान छोरालाई विद्यालय पठाउन सक्नुभएन । १० बजेसम्म सडकमा भेल घट्ला र छोरालाई विद्यालय पठाउँला भन्ने आशमा उहाँ बस्नुभयो । तर भेल घटेन ।सोही स्थानमा रहेको नेपाल टेलिकम कार्यालय पछाडि १० वर्षदेखि पसल सञ्चालन गरिरहनुभएकी विमला लुइँटेलको व्यापार नभएको महिनौँ भयो ।

उहाँ भाडाबापत मासिक २८ हजार रुपियाँ तिर्नुहुन्छ । लुइँटेल बस्ने घरमै रहेका दुईवटा पसलको व्यापार ठप्प भएपछि चैत नलाग्दै सरे । उहाँको पनि व्यापार नभएको धेरै हप्ता बित्यो । सर्लाहीदेखि काठमाडौँ आएर व्यापार गर्न थालेदेखि अहिलेसम्म यस्तो अवस्था आएको थिएन । उहाँले भन्नुभयो, “पसलकै आम्दानीले भाडा तिर्ने हो । एक पैसा पनि आम्दानी नभएपछि पसल सार्नेबाहेक अरू विकल्प रहेन तर पसल कसरी सार्ने भन्ने अर्को चिन्ता छ ।”

कोइराला र लुइँटेलजस्तै पीडामा हुनुहुन्छ, कपनकै मिलनचोक तरकारी बजारका सम्राटसिंह तामाङ । सडकपेटीमा ठेला राखेर व्यापार गर्ने तामाङले शुक्रबार बिहान तरकारी बेच्न पाउनुभएन । उहाँहरूजस्तै यस क्षेत्रमा १० हजारभन्दा बढी नागरिकको साझा समस्या हो यो । २०७८ पुस १८ गते लुइँटेलको घरअगाडि काठमाडौँ महानगरपालिका–६ र बूढानीलकण्ठ–१०, ११ र १२ लाई समेट्ने आनीगुम्बादेखि धोबीखोलासम्मको सडकमा नाला निर्माणका लागि ७ फिट गहिरो खाडल खनिएको छ । सडक लथालिङ्ग पारिएको छ । जसका कारण उक्त क्षेत्रका दुई दर्जन पसल सञ्चालकले सारेको लुइँटेलले बताउनुभयो । उहाँले भन्नुभयो, “गाडी ल्याउने ठाउँ छैन । सामान बोकेरै लान पनि सम्भव छैन । परिबन्दमा परिरहेका छौँ ।”

धराप थापेर हिँड्यो ठेकेदार कम्पनी

बूढानीलकण्ठ–१२ को आनीगुम्बादेखि मिलनचोक, तरकारी बजार हुँदै धोबीखोलासम्मको सडकमा पक्की नाला निर्माणअन्तर्गत २०७८ पुस १८ गते सडक खन्न सुरु भयो । सहरी विकास मन्त्रालयअन्तर्गत काठमाडौँ उपत्यका विकास प्राधिकरणले २०७८ जेठ २६ गते सम्झौता गरी एक हजार चार सय मिटर नाला निर्माण गर्न असार २० गते सम्पन्न गर्ने सर्तमा ठेक्का दिएको हो । तर काम १५ प्रतिशत पनि भएको छैन । लुइँटेलले भन्नुभयो, “हिँउदभरि पानी नपर्दा काम नगरी बित्यो । बर्खा लागेपछि केही दिन काम गरेजस्तो गरे । काम अघि बढेन । यस्तो धराप थापेको छ । कसैलाई केही भयो भने जिम्मेवार को हुने ?”

ललितपुरको बालकुमारीस्थित हाई हिमालय–पीआर जेभीले बक्स कल्भर्ट र सडक निर्माणको ठेक्का पाएको छ । कम्पनीका सञ्चालक पञ्चराम महर्जनले बर्खा लागेपछि काम रोकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “बाढी आउँछ, कसरी काम गर्ने ? अब बाढी रोकिएपछि असोजदेखि काम सुरु हुन्छ ।” ठेकेदार महर्जनले नाला निर्माणमा आफूबाट ढिलाइ भएको स्वीकार्नुभयो । उहाँले आगामी वर्ष निर्माण सम्पन्न गर्ने दाबी गर्दै अहिले ‘जसले जे भने पनि’ केही गर्न नसकिने जिकिर गर्नुभयो ।

ठेकेदार महर्जनले आगामी वर्षसम्ममा काम सक्ने बताए पनि स्थानीयवासी बाटो बन्नेमा विश्वस्त छैनन् । स्थानीयवासी विमलादेवी कोइरालाले एक हजार चार सयमध्ये १५० मिटर बाटो मात्रै निर्माण गरेको ठेकेदार कम्पनीलाई कारबाहीको माग गर्नुभयो । उहाँले भन्नुभयो, “एक वर्षमा १० प्रतिशत मात्रै काम गर्ने ठेकेदारलाई कारबाही हुनुपर्छ । यही अनुपातमा काम गर्ने हो भने १० वर्ष लाग्छ । जेठमा सम्झौता गर्ने, पुसमा काम सुरु गर्ने, अहिले बर्खा लाग्यो भनेर धराप छोडेर हिँड्ने ठेकेदारले अर्को वर्षसम्ममा काम सक्छन् भनेर कसरी विश्वास गर्ने ?” 

ठेकेदारको चरम लापरबाही

काठमाडौँ उपत्यका विकास प्राधिकरणका सिनियर इन्जिनियर खेमराज जोशीले नाला निर्माणमा ठेकेदार कम्पनीले ढिलाइ गरेकाले स्थानीयवासी समस्यामा परेको बताउनुभयो । समयमै कामलाई तीव्रता दिएको भए अहिलेसम्ममा उल्लेख्य काम हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नाला निर्माणमा ठेकेदार कम्पनीको लापरबाही भएकै हो । समयमै काम सुरु गरेको भए धेरै काम हुने थियो । अहिले ठेक्का थप्ने बेलामा १०–१५ प्रतिशत मात्रै काम भयो भन्ने अवस्था आउने थिएन ।”