• ६ चैत २०८०, मङ्गलबार

सीसीटीभी मर्मत नहुँदा चोरीडकैती बढ्दै

blog

सिन्धुपाल्चोक, असार ११ गते । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका क्षेत्रमा राखिएका सीसीटीभी बिग्रिएपछि चोरीडकैतीमा वृद्धि भएको जनाइएको छ । बाह्रबिसे नगर क्षेत्रभर भएका १६ मध्ये १४ वटा नै सीसीटीभी बिग्रिएको छ महिना पुग्दा पनि मर्मत हुन सकेको छैन । बाह्रबिसे नगर स्थानीय सभाका संयोजक उद्धवबहादुर तिवारीले बाह्रबिसे नगरको राम्चे बजार चोक, साधी खोल्सा, चण्डेश्वरी होटेल चोक, बाह्रबिसे प्राथामिक स्वास्थ्य केन्द्र बसपार्क, राम्चे अस्थायी प्रहरी पोस्ट, ट्वाके टोल, बीच बजार, सुनकोसी चोक, राम्चे पेटोल पम्प, नगरपालिका सडकलगायतका स्थानमा सीसीटीभी जडान गरिएको थियो । 

‘सीसीटीभी बिग्रिएको छ महिना पुग्यो, न मर्मत भएको छ, न अर्को जडान गरिएको छ, सीसीटीभीमाथि भँगेराले गुँड लगाएको छ, तिवारीले गुनासो गर्नुभयो । नगर क्षेत्रमा चोरीका घटना बारम्बार दोहोरिएपछि स्थानीय अगुवा र सुरक्षाकर्मीको मागमा बाह्रबिसे नगरपालिकाले सीसीटीभी जडान गरेको हो । सीसीटीभी जडानपछि चोरीका घटना घटेको र सीसीटीभीकै सहयोगमा प्रहरीले शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रियामा अघि बढाउने गरेको थियो । 

सीसीटीभी बिग्रिएपछि हराएको मान्छे खोज्न, चोरीडकैती, डलर साटासाटलगायतका आपराधिक घटनामा प्रमाण सङ्कलन गर्न समस्या भएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक मुकेश न्यौपानेले बताउनुभयो । “सीसीटीभी नहुँदा स्थानीय र सुरक्षाकर्मी दुवैलाई समस्या भएको छ, चोरीडकैतीजस्ता घटना हुन नदिन सतर्क त छौँ तर यसले हामीलाई केही हदसम्म सघाएको थियो,” न्यौपानेले थप्नुभयो । बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले आगामी आर्थिक वर्षमा बजेट छुट्याएर सीसीटीभी मर्मत र जडान गर्ने जानकारी दिनुभयो ।