• ६ चैत २०८०, मङ्गलबार

राजनीतिप्रति युवाहरु आकर्षित भएका छन् : अध्यक्ष ओली

blog

फाइल तस्विर

गोरखापत्र अनलाइन

काठमाडौं, असार ९ गते । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्र उम्मेदवारीबाट युवाहरु निर्वाचन जित्नु राम्रो भएपनि त्यसलाई समग्र सत्यको रुपमा लिन नहुने बताउनुभएको छ । टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले विहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । 

युवाहरु स्वतन्त्र उम्मेदवार भएर विजयी हुनुलाई अपवादको रुपमा लिनुपर्ने उहाँको भनाई छ । अध्यक्ष ओलीले नेपालमा मुख्यरुपमा दुईवटा मात्र राजनीतिक पार्टी रहेको र राम्रो काम नगरे त्यसको अपवादको रुपमा नयाँ शक्तिले जन्म लिन सक्ने बताउनुभयो । राजनीति र राजनीतिक संगठनमा विचारको महत्व बढी हुने भन्दै गन्तव्य र उद्देश्य पूर्तिकालागि विचार आवश्यक रहेको बताउनुभयो । अध्यक्ष ओलीले युवाहरुमा राजनीतिप्रति घृणा नभइ आकर्षण बढेको चर्चा गर्नुभयो । 

अध्यक्ष ओलीले भन्नुभयो, ‘यो गतिशील दुनियाँ हो । जो स्वतन्त्र रुपमा युवाहरु उम्मेदवार हुन्छु भन्छन्, कहीँ जित्छन्, यसलाई अपवादको रुपमा लिनुपर्छ । यसलाई समग्र सत्यको रुपमा होइन, यो आंशिक सत्यको रुपमा लिनुपर्छ ।’ नेकपा एमाले घामजुन रहुन्जेल रहने, नेपाली कांग्रेस घामजुन रहुन्जेल रहन्छ भन्ने चाहिँ नरहेको उहाँले बताउनुभयो । ‘अहिलेको यथार्थ के हो भने नेपालमा आधारभुत मुख्यरुपमा दुईवटा पोलिटिकल पार्टी छन्, एमाले र कांग्रेस । यिनीहरुले ठीक काम गरेनन् भने कोही पनि ठीक काम नगरेर पनि लोकप्रिय भइरहने, अघि बढीरहने, जनताले विश्वास गरिरहने, माया गरिरहने, साथ दिइरहने निस्क्रिय भएपनि, यो भन्दा राम्रो काम गर्ने अर्को आयो भनेपनि  त्यसलाई अस्वीकार गर्ने भन्ने कुरा हुँदैन’ उहाँले भन्नुभयो ।

समय गतिशील छ । राजनीति र राजनीति संगठनमा विचारको महत्व रहने उहाँको भनाई छ ।  गन्तव्य र उद्देश्यको महत्व ठूलो हुने भन्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘युवाहरुमा राजनीतिप्रति व्यापक फ्रस्टेशन छ भन्नेकुरा एक दुई वर्ष अघिसम्म सबैले युवाहरुले राजनीतिमा घृणा गर्न थाले भन्थे । त्यो कुरा सत्य होइन ।’

अध्यक्ष ओलीले युवाहरुमा राजनीतिप्रतिको आकर्षण बढेको दावी गर्नुभयो । युवाहरुसम्म राजनीतिक पार्टी नपुग्नुले पनि युवाहरुले आफ्नो संगठन बनाएर राजनीतिमा लागिरहेको उहाँको बुझाई छ ।