आतङ्कवादको चपेटामा फ्रान्स

Ram prashadरामप्रसाद आचार्य

युरोपको समृद्ध मुलुक फ्रान्स आतङ्कवादको शिकार बनेको छ । दोस्रो विश्वयुद्धपछि आतङ्कवादी समूहले त्यहाँ ठूलो क्रूर तथा अमानवीय आक्रमण गरी १२९ जना निर्दोष नागरिकको ज्यान लिएको छ भने ३५० भन्दा बढीलाई घाइते बनाएको छ । विश्वव्यापीरूपमा निन्दा र भत्र्सना गरिएको सो आक्रमणको जिम्मेवारी सिरिया र इराकमा ठूलो भू–भाग कब्जा गरी आतङ्क मच्चाइरहेको इस्लामिक उग्रवादी समूह आईएस स्टेटले लिएको छ । सो समूहले फ्रान्सले सिरियामा आफ्नो समूहविरुद्ध जारी हवाई आक्रमणको बदला लिएको दावी गरेको छ ।
यही नोभेम्बर १३ को राति पेरिसको राष्ट्रिय रङ्गशालामा फ्रान्स र जर्मनीबीचको मैत्रीपूर्ण फुटबल हेरिरहेका दर्शकहरू, सांस्कृतिक कार्यक्रमको आनन्द लिइरहेका दर्शकहरू, रेष्टुरेन्ट र बारमा खाना खाइरहेका सर्वसाधारणलाई लक्षित गरी आठजना आत्मघाती आक्रमणकारीले विभिन्न छ स्थानमा एकै समयमा शृङ्खलाबद्धरूपमा मेसिनगन, विस्फोटक पदार्थ र बमले अन्धाधुन्ध आक्रमण गरी नरसंहार मच्चाएपछि पेरिसको जनजीवन अस्तव्यस्त बन्न पुग्यो । शहर बजार जताततै कोलाहल मच्चियो । आम जनतामा भय र त्रास छायो । सबै आतङ्कित बने । मैत्रीपूर्ण फुटबल हेरिरहनुुभएका फ्रान्सका राष्ट्रपति फ्रान्सिस होल्यान्डले सो घटना लगत्तै मन्त्रिपरिषद्को आपत्कालीन बैठक बोलाई मुलुकभर सङ्कटकालीन स्थितिको घोषणा गर्दै आक्रमणकारी आतङ्कवादीसामु नझुक्ने र आक्रमणमा संलग्न आक्रमणकारीलाई कारबाही गर्ने प्रतिबद्धता जनाउनुभयो । सो घटनामा मारिएका निर्दोष नागरिकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय शोक मनाइयो ।
सङ्कटकाल लागू गरिएपछि पेरिसमा सेना परिचालन गरिएको छ भने आक्रमणकारीको खोजी तथा अनुसन्धान भइरहेको छ । आक्रमणकारीको खोजीका लागि केही समय विमानस्थलहरू तथा सिमानाकाहरू बन्द गरियो । आक्रमणकारीको खोजी तथा अनुसन्धान गरिरहेको विशेष प्रहरी टोलीले तीनवटा समूह बनाई आक्रमणकारीले आक्रमण गरेको पुष्टि गरेको छ । प्रहरीले शंकास्पद केही व्यक्तिलाई पक्राउ गरेको छ । आक्रमणमा संलग्न आठजना आक्रमणकारीमध्ये सात जनाले नरसंहार गरेलगत्तै आफैँलाई विस्फोट गराई आत्मघात गरेका थिए भने एकजना आक्रमणकारी सुरक्षा कारबाहीमा मारिएका थिए । आत्मघात गर्ने सातजनामध्ये एकजना महिला रहेको बताइएको छ । ती सबै आईएस स्टेटका सदस्य भएको प्रहरीले जनाएको छ ।
फ्रान्समा भएको यो आतङ्कवादी आक्रमणको संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुन, अमेरिकी राष्ट्रपति बाराक ओबामा, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चीनका राष्ट्रपति सि जिनपिङ, बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन, जर्मन चान्सलर एन्जेला मर्केललगायत विश्वभरका नेताहरूले भत्र्सना गर्दै आतङ्कवादविरुद्ध एकजुट हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यो आतङ्कवादी आक्रमणले विश्वलाई नै स्तब्ध बनाएको छ । फ्रान्सको यो घटनापछि युरोप, अमेरिका थप आक्रमण हुनसक्ने सम्भावनालाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
फ्रान्समा गएको जनवरी ७ मा त्यहाँको चार्ली हेब्डो पत्रिकाको कार्यालयमा आतङ्कवादी आक्रमण भएको थियो । आक्रमणमा आठजना पत्रकारसहित १८ जनाको ज्यान गएको थियो । सो आक्रमण पनि इस्लामिक अतिवादी समूह आईएस स्टेटले गराएको थियो । पत्रिकाको कार्यालयमा भएको आक्रमणपछि फ्रान्स सरकार सिरियामा रहेको आईएस स्टेटविरुद्ध हवाई कारबाहीमा उत्रेको थियो । हवाई कारबाहीमा क्रममा फ्रान्सले अरब सागरमा युद्धपोतसमेत पठाएपछि आक्रोशित आईएस स्टेटले फ्रान्समाथि भीषण आतङ्कवादी आक्रमण गरेको हो । सिरियामा जारी हवाई कारबाही नरोकिए र युद्धपोत फिर्ता नगरिए थप आक्रमण गर्ने चेतावनी पनि आईएस स्टेटले दिएको छ ।
पछिल्लो समय अमेरिका, रुस, फ्रान्स, साउदी अरबलगायतका मुलुकले सिरियामा आईएस स्टेटविरुद्धको हवाई कारबाही तीव्र बनाई थुप्रै लडाकु मारिएपछि विचलित भएको आईएस स्टटेको नेतृत्वले आत्मघाती आक्रमणलाई तीव्र बनाई बदला लिने दाउ हेरिरहेको छ । यसले गर्दा विभिन्न मुलुकको सुरक्षामा नयाँ चुनौती थपिएको छ ।
आतङ्कवादी आक्रमणबाट घाइते बाघजस्तो बनेको फ्रान्सले सिरियामा आईएस स्टेटका अखडाहरूमा अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमण गरेको छ । सो आक्रमणबाट आईएस स्टटेका थुप्रै लडाकुहरू मारिएका छन् । आईएस स्टेटलाई पराजित नगरेसम्म हवाई आक्रमण जारी राखिने फ्रान्सले जनाएको छ । फ्रान्समा भएको आतङ्कवादी आक्रमणपछि टर्कीमा सम्पन्न जी २० को बैठकले पनि आतङ्कवादविरुद्ध एक भएर लड्ने प्रतिबद्धता जनाएको छ । विश्व शान्तिका लागि आतङ्कवादविरुद्ध सबै एकजुट भएर प्रतिवाद गर्नु र आतङ्कवादलाई समाप्त पार्नु आजको प्रमुख आवश्यकता हो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना