• ६ चैत २०८०, मङ्गलबार

नेपाल टेलिकमले घटायो इन्टरनेट र इन्ट्रानेटको लिज लाइन शुल्क

blog

काठमाडौं, असार ९ गते । नेपाल टेलिकमले इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल घटाएको छ । कम्पनीले यही असार १ गतेदेखि लागू हुने गरी इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल दर ३६ प्रतिशतसम्म घटाएको हो । इन्टरनेटको लिज लाइनअन्तर्गत एकदेखि २० एमबिपीएस ब्यान्डविथको महसुल दर अब रु. एक हजार ६०० मात्र कायम गरिएको छ । यसअघि रु. दुई हजार शुल्क रहेकामा टेलिकमले रु ४०० घटाएको हो ।

यस्तै, २१ देखि ५० एमबिपीएसको महसुल दर रु. दुई हजार ३०० रहेकामा रु. एक हजार ६०० बनाइएको छ । ५१ देखि १०० एमबिपीएसको रु. दुई हजार १०० र १०० एमबिपीएस ब्यान्डविथभन्दा बढी क्षमताको महसुल रु. एक हजार ९०० रहेकामा दुवैको महसुल दर घटाएर रु. एक हजार ५०० कायम गरिएको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार इन्ट्रानेट लिज लाइनअन्तर्गत एकदेखि १० एमबिपीएस व्यान्डविथको महसुल रु. दुई हजार ७०० रहेकामा रु दुई हजार ४०० बनाइएको छ । यसैगरी ११ देखि १०० एमबिपीएसको रु. दुई हजार ४०० रहेकामा रु. दुई हजार १००, १०० एमबिपीएसभन्दा बढीको रु. दुई हजार १०० रहेकामा रु. एक हजार ८०० कायम गरिएको छ ।

नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ । उक्त सेवामा इन्टरनेटको अपलिङ्क र डाउनलिङ्क क्षमता सधैं बराबर रहनाका साथै २४सै घण्टा निरन्तर डेडिकेटेडरूपमा उपलब्ध भइरहेको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।