• ६ चैत २०८०, मङ्गलबार

क्यान्सरपीडित बालकलाई उपचार खर्च सहयोग

blog

क्यान्सर पीडित बालकलाई सहयोग गर्दै सारु । तस्वीर : छविलाल पाण्डे

छविलाल पाण्डे 

बुटवल, असार ८ गते । रुपन्देहीको सैनामैना नगरपालिका १० झिमझिमियाका चेतबहादुर सारुले क्यान्सर पीडित बालकको उपचारका लागि आर्थिक सहयोग प्रदान गर्नुभएको छ । सारुले पीडित बालकलाई २५ हजार ६ सय २५ रुपियाँ उपचार खर्च सहयोग गर्नुभएको हो ।

कपिलवस्तुको बाणगंगा नगरपालिका ११ हथौसाका ५ बर्षीय बालक शिशिर शर्माको घाँटीमा क्यान्सर भएको छ । एक पटक अपरेसन गरेर घाँटीको मासु फालिए पनि निको नभएपछि अहिले थप उपचार गर्नुपर्ने चिकित्सकको सल्लाह छ । उपचार खर्चको जोहो नभएपछि उहाँको उपचार गर्न नसकिएको घरका सदस्यहरुको भनाई छ ।  

शर्माको उपचारमा केही सहयोग पुगोस् भनेर आफूले सहयोग गरेको सारुले बताउनुभयो । क्यान्सर पीडित बालक शिशिरका बुवा नारायण शर्मा पनि विरामी हुनुहुन्छ । छोरालाई क्यान्सर भएपछि अहिले उहाँको परिवार संकटमा छ । १० लाख रुपियाँ खर्च गरेर अपरेसन गरी घाँटीमा पलाएको मासुको डल्ला फालिए पनि निको नभएको उहाँले सुनाउनुभयो ।

नारायणको परिवार एक बर्षअघि बागलुङको बडिगाड गाउँपालिका ७ पात्लेबाट बसाई सराई गरेर कपिलवस्तुको बाणगंगा नगरपालिका ११ हथौसामा आएर भाडामा बसिरहेको छ ।