• ६ चैत २०८०, मङ्गलबार

अझै बनेन विपत् प्रतिकार्य योजना

blog

पानीको सतह मापनका लागि कर्णाली नदीमा राखिएको पानीको सतह मापन यन्त्र । तस्बिर सौजन्य :पार्वती गुरुङ

धनगढी, असार ८ गते । बाढीको ठूलो जोखिम भोग्दै आएको कैलालीमा विपत् प्रतिकार्य योजना अझै निर्माण हुन सकेको छैन । वर्षायाम सुरु भइसक्दा पनि विपत् पूर्वतयारीका लागि जिल्लामा अझै प्रतिकार्य योजना बन्न नसकेको हो । बाढी र डुबानको हिसाबले जिल्लाको नदी तटीय क्षेत्रसहित आसपासका बस्तीमा हरेक वर्ष ठूलो जोखिम रहँदै आएको छ । 

अघिल्ला वर्ष असार पहिलो सातामै विपत् प्रतिकार्य योजना बनाइए पनि यो वर्ष केही ढिलो हुन गइरहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । यद्यपि विपत् न्यूनीकरण तथा खोज, उद्धारको क्षेत्रमा काम गर्ने सरोकारवाला निकायसँग छलफल भने भइरहेको जनाइएको छ । 

“यस वर्ष विपत् प्रतिकार्य योजना बनाउन केही ढिलो भइरहेको छ,” जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भन्नुभयो, “तीन÷चार दिनपछि प्रतिकार्य योजना तयार पार्छौं ।” उहाँका अनुसार जिल्लास्थित जिल्ला विपत् व्यवस्थापन समिति र स्थानीय तहमा रहेका स्थानीय विपत् व्यवस्थापन समितिबीच सहकार्य र समन्वय गर्नेगरी छलफल भने भइरहेको छ । 

कैलालीमा मोहना, खुटिया, घुरहा, कान्द्रा, काँढा, पथरैया, कर्णाली, शिवगङ्गा, कटैनीलगायतका नदी पर्छन् । वर्षायाममा यी नदीमा बाढी आएमा जिल्लाको दक्षिणी क्षेत्रको धेरै भू–भागमा डुबान समस्या भएर धेरै मान्छे प्रभावित हुने गरेका छन् । जिल्लाको भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका, जानकी गाउँपालिका र कैलारी गाउँपालिकामा बढी डुबान समस्या हुँदै आएको छ । यसैगरी धनगढी उपमहानगरपालिकाको दक्षिणी क्षेत्रसहित केही भू–भाग, गोदावरी नगरपालिका, घोडाघोडी नगरपालिकाको केही भू–भागमा डुबान समस्या हुने गरेको छ । यस वर्ष पनि यिनै क्षेत्रमा बाढी, डुबानको जोखिम हुन सक्ने भन्दै जिल्ला विपत् व्यवस्थापन समितिले जोखिम क्षेत्र पहिचान गरेको सूचना अधिकारी जोशीले बताउनुभयो । 

यस्तै कैलालीको पहाडी क्षेत्रमा भने पहिरोको जोखिम रहँदै आएको छ । चुरे गाउँपालिकामा सबैभन्दा बढी पहिरोको जोखिम रहेको उहाँले जानकारी दिनुभयो । गत वर्ष आएको पहिरोका कारण सो गाउँपालिकाका वडा नम्बर ४, ५ र ६ का गरी २२१ परिवार प्रभावित भएका थिए । साउन १५ देखि २५ गतेसम्म खसेको पहिरोका कारण गौजना, बगेडी, तल्लो गौजना, गुँडी, तितरे, बसडी र सिस्नेरीका स्थानीय बसिरहेको घर छोड्न बाध्य भएका थिए । उनीहरू एक वर्षदेखि जङ्गलआसपासमा बस्दै आएका छन् । 

चुरेका पहिरो प्रभावितको अहिलेसम्म व्यवस्थापन हुन नसकेको सूचना अधिकारी जोशीले बताउनुभयो । “उहाँहरू अझै जङ्गलमै बस्दै आउनुभएको छ,” उहाँले भन्नुभयो । मोहन्यालमा पनि पहिरोको जोखिम रहेको छ । यद्यपि चुरेको भन्दा बाक्लो बस्ती मोहन्यालमा नरहेका कारण त्यहाँ पहिरोका कारण धेरैलाई समस्या हुने सम्भावना नरहेको जोशीको भनाइ छ । 

कैलालीमा प्राकृतिक विपत्बाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीको अभ्यास विगतबाटै हुँदै आएको छ । पूर्वसूचनाका लागि जिल्ला प्रशासन कार्यालयमा आपत्कालीन कार्यसञ्चालन केन्द्रको स्थापना भएको छ । उक्त केन्द्रमा कर्णाली नदीका पानीको सतह स्वचालित रूपमा थाहा पाउने प्रणालीको विकास गरिएको छ । यसैगरी अन्य नदीका पानीको सहतबारे जानकारी दिनका लागि भने ‘मेनुअल प्रणाली’को व्यवस्था गरिएको छ । कर्णालीबाहेकका नदीमा पानीको सतहबारे गेज रिडरले जानकारी दिएका आधारमा जिल्लाभर सूचना प्रवाह गर्ने गरिएको छ । 

पहिले एसएमएस प्रणालीबाट पूर्वजानकारी दिइने गरिए पनि अचेल एसएमएस बन्द भएको जनाइएको छ । आजकल प्रहरी र स्थानीय विपत् व्यवस्थापन समितिसहित सरोकारवाला निकायमार्फत नै पूर्वसूचना बस्तीसम्म प्रवाह गर्ने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । कैलालीका विभिन्न नदीको माथिल्लो क्षेत्रमा पानीको सतह बढी भएमा तल्लो तटीय क्षेत्रमा बसोवास गर्ने व्यक्ति अर्थात् सङ्कटापन्न समुदायलाई सुरक्षित स्थानमा सार्ने गरिएको छ ।

जिल्लामा विपत् प्रतिकार्य योजना बनाउन ढिलाइ हुँदा स्थानीय तहले पनि पूर्वतयारी गरेका छैनन् । बढी मात्रामा बाढी र डुबानको समस्या झेल्दै आएको भजनी नगरपालिकामा अहिलेसम्म पूर्वतयारी गरिएको छैन । स्थानीय विपत् व्यवस्थापन समितिले खासै तयारी नगरेको भजनी नगरपालिकाका विपत् व्यवस्थापन स्रोत व्यक्ति खिमबहादुर पनाडीले बताउनुभयो । “परेपछि बल्ल तात्ने स्थानीय तहको चलन छ,” उहाँले भन्नुभयो, “अहिलेसम्म खासै तयारी छैन ।” भजनीले गत वर्ष तयार पारेको विपत् प्रतिकार्य योजना पनि अद्यावधिक गर्न बाँकी रहको पनाडीले उल्लेख गर्नुभयो ।