• ६ चैत २०८०, मङ्गलबार

तटबन्ध भत्किएपछि रातभर जागै बस्नुपर्ने बाध्यता

blog

 विष्णुप्रसाद पोखरेल

दमक, असार ७ गते। झापाको दमक ७ स्थित रतुवा पुल उत्तर क्षेत्रमो पक्की तटबन्धन भत्किएपछि स्थानीयहरु रातभर जागै बस्न बाध्य भएका छन्। तत्काल कटान रोक्नका लागि स्थानीयले माग गरेका छन्। 

दमक नगरपालिकाका प्रमुख रामकुमार थापाका अनुसार खोला किनारको सडक भत्किन थालेको र उक्त सडक भत्किएको जनाउँदै खोला नियन्त्रणका लागि सरोकारवाला निकायसँग समन्वय भइरहेको बताउनुभयो। 

कटान जारी हुँदा नेपाल रेडक्रस सोसाइटीमा निर्माणाधीन  प्रदेशस्तरीय बाल अस्पताल, दमक उद्योग वाणिज्य सङ्घ, रोज गार्डेन लगायतका संरचनामा क्षति पुग्ने र सयौं घरपरिवार प्रभावित बन्ने देखिएको नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाका अध्यक्ष प्रकाश बुढाथोकीले जानकारी दिनुभयो। 

‘हामी स्थानीय पानी नरोकिँदा रातभर निदाउन सकेका छैनौं’, उहाँले भन्नुभयो। कतिखेर पानी पसेर विजोग हुने र संरचना भत्काउने हो भन्ने चिन्ता भएको उहाँको भनाइ छ। खोलाको किनारमा रेक्रस भवनमा नै सर्पदंश उपचार सेवा र रक्त सञ्चार सेवासमेत सञ्चालनमा रहदै आएको छ।

नेकपा माओवादी केन्द्रका दमक नगर इन्चार्ज बेदु गौतमका अनुसार कटान भइरहेको क्षेत्र रतुवा पुल र राजमार्गबाट नजिक रहेकाले यसले गम्भीर क्षति गर्नसक्ने नगर प्रमुख थापासहित सरोकारवाला निकायलाई ध्यानाकर्षण गराइएको बताउनुभएको छ। 

दमक–७ का वडाध्यक्ष भीमप्रसाद पौड्यालका अनुसार करिब रतुवा पुलसम्म तटबन्धन गर्न चार सय मिटर बाँकी रहेकाले तटबन्धनको काम भइरहेको भए पनि वर्षाका  कारण काम छिटो गतिमा अघि बढ्न सकेको छैन। कतिपयले तत्काललाई खोला च्यानालाइज अर्थात् अहिले बगेभन्दा अर्को दिशामा लैजान पनि सुझाव दिइरहेकाले यस विषयमा छलफल भइरहेको जनाउनुभयो।