• ६ चैत २०८०, मङ्गलबार

मौद्रिक नीतिमा तरलता व्यवस्थापन गर्न सुझाव

blog

रङ्गेली समाचारदाता

विराटनगर, असार ६ गते । नेपाल राष्ट्र बैङ्कले, बैङ्कमा रहेको नगद रिजर्भलाई लगानीयोग्य बनाउन पूर्वका उद्योगीले सुझाव दिएका छन् । उद्योग सङ्गठन, मोरङले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा तरलता अभाव व्यवस्थापनलाई मुख्य चासोका रूपमा लिनुपर्ने सुझाव दिइएको हो ।

नेपाल राष्ट्र बैङ्कलाई २१ बुँदे लिखित सुझाव दिँदै सङ्गठनले युक्रेन–रुस युद्धको प्रभावले विश्व बजारमा बढेको मूल्यलाई आधार बनाएर राष्ट्र बैङ्कले मौद्रिक नीति जारी गर्नुपर्ने सुझाव दिएको अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिनुभयो । 

“तरलताको अभाव, ब्याजदर निरन्तर वृद्धि, युक्रेन–रुस युद्धलगायतका कारण अन्तर्राष्ट्रिय बजारमा भएको अत्यधिक मूल्य वृद्धि, बढ्दो आयातले वैदेशिक व्यापार सन्तुलन र वैदेशिक मुद्रा सञ्चितिमा गिरावटजस्ता समस्या कायमै रहेकाले वित्तीय असन्तुलनको अवस्था तत्कालै अन्त्य हुने सङ्केत मौद्रिक नीतिले दिनुपर्दछ,” सङ्गठनका अध्यक्ष प्याकुरेलले भन्नुभयो । मौद्रिक नीतिले स्वदेशी उद्योग, निर्यातमूलक उद्योग तथा समग्र उत्पादनशील क्षेत्रलाई चलायमान बनाउँदै वित्तीय सन्तुलन कायम गराउनुपर्ने उहाँले जोड दिनुभयो ।