• ६ चैत २०८०, मङ्गलबार

‘नेपाली संस्कृतिको विशिष्टता लोप हुन दिनुहुँदैन’

blog

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय नाचघरमा आइतबार आयोजित सांस्कृतिक संस्थानको ५०औँ वार्षिकोत्सव कार्यक्रम उद्घाटन गर्नुहुँदै ।तस्बिर : सागर बस्ने

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार ६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले विदेशी संस्कृतिको बढ्दो प्रभावका कारण नेपाली मौलिक कला र संस्कृति ओझेलमा पर्नसक्ने खतरा उत्पन्नभएको बताउनुभएको छ । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)को स्वर्ण महोत्सवको उद्घाटन विशेष कार्यक्रममा आइतबार उहाँले त्यस्तो बताउनुभएको हो ।

उहाँले सूचना तथा सञ्चार प्रविधिको तीव्र विकास र यसमा सबैको सहज पहुँचका कारण नेपाली संस्कृतिको विशिष्टता लोप हुन नदिन नेपाली रङ्गमञ्च साङ्गीतिक साज–वाज र प्रस्तुतिको ढाँचामा सुधार गरिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘आज विश्‍वका कुनै पनि स्थानमा हुने घटना र गतिविधि, संस्कृति एवं रहनसहन क्षणभरमै विश्वव्यापी बन्न सक्छ । तसर्थ अब हामीले विश्‍वव्यापी दर्शक–श्रोतालाई समेत लक्षित गरी व्यवस्थित प्रस्तुति एवं उत्कृष्ट प्रदर्शन क्षमताको विकास गर्नु आवश्यक छ ।’’ कुनै पनि मुलुकको सभ्यता कति समृद्ध छ भन्ने कुरा आफ्नो मौलिक संस्कृतिको विकास र प्रवद्र्धनका लागि समाज र राष्ट्रले कसरी  योगदान गरिरहेको छ भन्ने दृष्टिबाट मापन हुने उहाँले उल्लेख गर्नुभयो ।

कला र संस्कृतिले कुनै पनि राष्ट्रको विशिष्ट पहिचान गर्ने भएकाले यसबाट बचाइराख्न नेपाली नाटक, गीत, सङ्गीत र नृत्यकलाको संस्थागत विकास, संरक्षण एवं संवद्र्धन गर्नुपर्नेमा उहाँको जोड छ । राष्ट्रपति भण्डारीले समकालीन विश्‍वमा नाटक, गीत–सङ्गीत, नृत्य, वाद्यवादनलगायत प्रस्तुतिजन्य कलाका विभिन्न विधाले नेपाली मौलिक संस्कृति र सभ्यताको निर्माणमा गरिरहेको योगदान अमूल्य रहेको जनाउनुभयो ।

प्राचीन समयदेखि नै हाम्रा पूर्वजले मौलिक कला र संस्कृतिको महìव बुझेर तिनको जगेर्ना गर्न हामीलाई प्रेरित गर्दै आएको बताउँदै उहाँले साहित्य, कला र सङ्गीतले असल मानवीय भावनाको समेत प्रवद्र्धन गर्न जोड दिनुभयो ।

सांस्कृतिक आदान–प्रदानको माध्यमबाट समेत नेपाली कला र संस्कृतिलाई बाह्य मुलुकमा प्रवद्र्धन गर्न सकिने उहाँले बताउनुभयो । ५० वर्षको लामो इतिहास र अनुभव बोकेको सांस्कृतिक संस्थानले नेपाली मौलिक कला र संस्कृतिको संरक्षण, विकास र प्रवद्र्धनका लागि नेतृत्वदायी भूमिका खेल्दै आएको राष्ट्रपति भण्डारीले बताउनुभयो ।

संस्थानका महाप्रबन्धक अशोककुमार राईले स्वागत मन्तव्य व्यक्त गर्दै नेपाली लोक संस्कृतिको संरक्षण, संवद्र्धन र लोक संस्कृतिको विकास गर्न अब उप्रान्त नयाँ योजना र लक्ष्यसाथ अगाडि लैजाने बताउनुभयो । 

देश चिनाउन चार किल्लाभित्रको भूगोल मात्र नभएर भाषा र संस्कृति, भेषभूषाको उच्चतम विकासमा योगदान रहने उहाँले बताउनुभयो । संस्थानको स्वर्ण महोत्सवको अवसर पारेर ११ जनालाई सम्मान, पुरस्कार तथा प्रशंसा पत्र प्रदान गरिएको थियो ।