• ६ चैत २०८०, मङ्गलबार

बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइने

blog

फाइल तस्विर

अविनाश चौधरी

धनगढी, असार ५ गते । सुदूरपश्चिम प्रदेशमा पाँचदेखि १२ वर्षमुनिका तीन जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइने भएको छ । पहिलो चरण अन्तर्गत कैलाली, कञ्चनपुर र डडेल्धुराका बालबालिकालाई फाइजर खोप दिन लागिएको हो । 

असार ९ गतेदेखि बालबालिकालाई विद्यालयमै कोरोनाविरुद्धको खोप प्रदान गरिने सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । असार १५ गतेसम्म बालबालिकालाई फाइजर खोप लगाइने मन्त्रालयको भनाई छ ।   

‘सो उमेर समूहका बालबालिका विद्यालय नजाने पनि छन्’, सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत हेमराज खड्काले भन्नुभयो । ‘तिनीहरु र छुटफुट अरुलाई मध्यनजर गरेर अन्तिम दिन स्वास्थ्य संस्थामा खोप लगाउने कार्य हुनेछ ।’ 

यो खोप सुरक्षित रहेकाले आ–आफ्ना बालबालिकालाई खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ । फाइजर खोपको प्रभावकारिता ९१ प्रतिशत रहेको छ । विश्व स्वास्थ्य सङ्गठनले आपतकालीन स्वीकृति दिएको फाइजर खोप बायाँ पाखुरामा लगाइन्छ । नेपालमा यसअघि फाइजरकै खोप १२ वर्षभन्दा माथिका बालबालिकालाई लगाई सकिएको छ । 

‘फाइजर खोप सुरक्षित रहनुका साथै यसको प्रभावकारिता पनि बढिरहेका कारण सबैलाई ढुक्कसाथ कोरोनाविरुद्धको खोप लगाउन आग्रह गर्दछु’, खड्काले भन्नुभयो । यो खोप बालबालिकालाई दुई मात्रा लगाउनु पर्ने जनाइएको छ । 

गम्भीर बिरामी, उच्च ज्वरो भएका, दीर्घरोगी लगायतले भने यो खोप लगाउन नमिल्ने जनाइएको छ । खोप लगाइसकेपछि कसैकसैलाई टाउको दुख्ने, आलस्य लाग्ने, जाडो हुनेजस्ता समस्या देखिनेगरेको पनि बताइएको छ । 

त्यसैगरी, एक हजारमध्ये एक जनालाई शरीर चिलाउने, बिमिरा, डाबर आउनेजस्ता समस्या देखिनेगरेको जनाइएको छ । दश लाखमध्ये खोप लगाएका एक जनालाई एनाफाइलेक्सिस हुनसक्ने खड्काले जानकारी दिनुभयो । ‘देखिन सक्ने एइएफआई व्यवस्थापनका लागि कमिटी तयार पारिएको छ’, उहाँले भन्नुभयो ।