• ६ चैत २०८०, मङ्गलबार

कार दुर्घटनामा बालकको मृत्यु

blog

जनार्जन खत्री 

सर्लाही, असार ५ गते । सर्लाहीको धनकौल गाउँपालिका –५, छठीघाट पुलमा शनिबार मध्यराती कार दुर्घटना हुँदा चार वर्षीय बालकको मृत्यु भएको छ । अन्य सात जना घाइते भएका छन् । 

बलरा नगरपालिकास्थित छतौनाबाट छठियार भोज (बच्चा जन्मिएको छ दिनमा गरिने भोज) खाएर रौतहटको वृन्दावन हरैयातर्फ फर्किदै गरेकाहरु सवार बीआर ०५ एआर ५१३७ नम्वरको कार राती १ बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा रौतहटको वृन्दावन नगरपालिका–४, हरैया बस्ने शुभलाल यादवका छोरा ४ वर्षीय गम्भीर यादवको घटनास्थमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । 

दुर्घटनामा वृन्दावन नगरपालिका –४, हरैयाकै ७० वर्षीय महेन्द्र राय, ४ वर्षीय अमितकुमार यादव, १४ वर्षीया मीराकुमारी यादव, ३२ वर्षीय जितेन्द्रकुमार यादव, १७ वर्षकी शोभाकुमारी यादव, १० वर्षीय गौतम यादव र ६ वर्षीय अनिकेत यादव घाइते भएका छन् । घाइतेमध्ये ७० वर्षीय महेन्द्र रायको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइते सबैको बरहथवास्थित अस्पतालमा उपचार जारी छ । दुर्घटनापछि कारका चालक फरार छन् । चालकसहित नौ जना सवार कार पुलबाट करिब १५ फिट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । बरहथवाका प्रहरी निरीक्षक चन्देश्वर यादवले दुर्घटनाका सम्वन्धमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।