• ६ चैत २०८०, मङ्गलबार

भुटानी शरणार्थी नेता राईको निधन

blog

दमक, असार ५ गते । अन्तिम समयसम्म पनि भुटानी शरणार्थीहरुको स्वदेश फिर्तीको बिषयमा अडान लिइरहनु हुने भुटानी शरणार्थी मानव अधिकारवादी नेता डा. भम्पा राईको निधन भएको छ । दमकमा तीन दशक अघिदेखि निरन्तर रुपमा भुटानी शरणार्थीहरुलाई निशुल्क रुपमा जाँच तथा उपचार सेवा दिइ शरणागत जीवन बिताउदै आउनु भएका ७२ बर्षीय राईको शनिवार राती नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा निधन भएको हो ।

शरीरमा रगतको कमी हुने समस्याको उपचार गराउदै आउनु भएका राई दमकमा एक्लै वस्दै आउनु भएको थियो । भुटानले नेपालीभाषी भुटानीलाई देश निकाला गरेपछि उहाँ आफै भुटान छाडेर नेपाल आउनु भएको बताइन्छ । भुटान सरकारको कन्सल्टेन्ट सर्जन रहे पनि त्यो त्यागेर आएर उहाँ शरणार्थीहरुको सेवामा निरन्तर लागि रहेको अवस्था थियो ।

भूटानबाट लखेटिएका शरणार्थीहरूको स्वदेश फिर्ती समितिका अध्यक्ष समेत रहनु भएका राईको घर तथा जग्गा जमिन केहि नभएपछि स्थानीय तहको निर्वाचन अघि दमक नगरपालिकाले लामो समय दमकबासी र शरणार्थीको स्वास्थ्य सेवामा समर्पित रहेको भन्दै डा. राईको बसोबासको जिम्मा स्थानीय सरकारले लिने निर्णय गरेको थियो ।

शरणार्थी नेता डा. राईले बारम्बार आफ्नो अन्तिम ईच्छा भनेको आफु तथा अहिले पनि भुटानी शरणार्थी शिविरमा रहेका शरणार्थीहरु स्वदेश फर्कन पाउनु पर्ने बताउदै आउनु भएको थियो । राईको श्रीमतिको गत बर्ष दमकमा नै निधन भएको थियो । त्यो समय श्रीमतिको उपचारमा रकम अभाव भएपछि नेपाल सरकारले पनि १० लाख सहयोग गरेको थियो ।

Author

विष्णुप्रसाद पोखरेल