तीनजना कृषकलाई राष्ट्रपति पुरस्कार

बाबियाचौर (म्याग्दी), कात्तिक २३ गते । म्याग्दीका तीनजना कृषकलाई आइतबार उत्कृष्ट राष्ट्रपति पुरस्कार प्रदान गरिएको छ । जिल्ला कृषि विकास कार्यालयले ३५औँ खाद्य दिवसको अवसरमा म्याग्दीका उत्कृष्ट तीनजना कृषकलाई नगद रु दश÷दश हजारसहित पुरस्कार प्रदान गरेको हो । व्यावसायिक तरकारीखेतीतर्फ बेनी नगरपालिका– १ आनन्दबगरका रुद्रबहादुर थापा र घार– ५ का रामचन्द्र बरुवालले राष्ट्रपति पुरस्कार प्राप्त गर्नुभएको छ ।

यसैगरी बाख्रापालनतर्फ भकिम्ली– ६ डाँडाखानीका धनबहादुर श्रीसलाई उक्त पुरस्कार प्रदान गरिएको छ । प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेल र वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले कृषकलाई पुरस्कारबापत नगद तथा सम्मानपत्र वितरण गर्नुभएको थियो ।

व्यावसायिक कृषि पेसा अपनाउने कृषकलाई प्रोत्साहन गर्न प्रस्ताव आह्वान र स्थलगत मूल्याङ्कन गरी प्रतिस्पर्धाका आधारमा उत्कृष्ट कृषकलाई छनोट गरेर पुरस्कार उपलब्ध गराइएको कृषि विकास कार्यालयका योजना अधिकृत ज्योति क्षेत्रीले बताउनुभयो । कार्यालयले गत वर्ष पनि तीनजना कृषकलाई राष्ट्रपति पुरस्कार प्रदान गरेको थियो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना