• ६ चैत २०८०, मङ्गलबार

सङ्कटमा बालन नाच

blog

सिन्धुलीमाढी, असार ४ गते । सिन्धुली जिल्लामा करिब दुई दशकअघिसम्म विभिन्न चाडपर्व र धार्मिक कार्यमा परम्परागत रूपमा नृत्य गर्दै आएको सांस्कृतिक बालन नाच सङ्कटमा पर्न थालेको छ । पछिल्लो समयमा युवा पुस्ताका व्यक्तिको नाचप्रतिको बेवास्ता र बालन नाच्ने पुराना पुस्ताहरू वृद्ध भई अशक्त हुँदै गएपछि संरक्षण अभावमा उक्त नाच सङ्कटमा परेको स्थानीयको भनाइ छ ।

अहिलेका युवा पुस्ता बाह्य गीत, सङ्गीत र संस्कृतिमा रमाउन थाल्नु र बालन नाचको संरक्षणमा उचित ध्यान नदिँदा नाच सङ्कटमा परेर हराउँदै गएको कमलामाई नगरपालिका–३, चपौली निवासी बालने ५८ वर्षीय शम्भुप्रसाद देवकोटा गुनासो गर्नुहुन्छ ।

“कुनै बेला गाउँमा आफूहरूलाई बालन नाच्न भ्याइनभ्याई नै हुन्थ्यो,” उहाँले भन्नुभयो, “अहिले बालन नाच्न जान्ने (बालने)को टोली नै जुटाउन सकिँदैन । कोही बसाइँ गए, कोही संसार नै छाडेर गए ।” एक दर्जनभन्दा बढी व्यक्तिको समूहमा रामायण र महाभारत जस्ता धार्मिक ग्रन्थलाई लय हालेर भट्याई नाचिने बालन नाच कुनै बेला छिमेकी जिल्लाहरूले समेत बोलाएको उहाँले स्मरण गराउनुभयो । चपौली निवासी वृद्ध देवीप्रसाद सिग्देल भन्नुहुन्छ, “युवा पुस्ताले बालन नाच चटक्कै भुले । सामाजिक प्रचलन, ऐतिहासिक घटनाक्रम र सांस्कृतिक पक्षलाई लयात्मक ढङ्गमा नाचिने यस नाचको संरक्षण गर्नुपर्ने आवश्यक देखिन्छ ।”


बाजे पुर्खाको पालादेखि प्रचलनमा रहेको प्रख्यात बालन नृत्य हिजोआज दिनानुदिन लोप हुन थालेर यसको अस्तित्व नै सङ्कटमा परेकोमा उहाँको दुःखेसो छ । उहाँ भन्नुहुन्छ, “आफूहरूको पालामा गाउँघरमा सत्यनारायणको पूजा लगाउँदा होस् या अन्य धार्मिक कार्यमा राति बालन नृत्य गर्ने गरेका थियौँ, यस्तो कार्यले हिजो बाजे पुर्खाको पालादेखि निरन्तर अनुशरण गर्दै आएको यो सांस्कृतिक नाच हामीले पनि बचाउँदै आएका थियौँ ।

” पछिल्लो समयमा धार्मिक पर्वमा समेत डिस्को नृत्य हुन थालेको कमलामाई नगरपालिका–११ निवासी दिलबहादुर खड्काको भनाइ छ । उहाँले भन्नुभयो, “अहिलेका पुस्ता हिन्दी र अङ्ग्रेजी गीतमा रमाउँदा परम्परागत बालन नाच लोप हुँदै गएको छ ।” बालन नाच जिल्लाको पहाडी क्षेत्रको कुनै पनि गाउँघरमा विभिन्न चाडपर्व तिथिमितिमा देख्न र सुन्न पनि पाउन छाडिएको उहाँको गुनासो छ । 

विगतमा बालन नृत्य गर्दा धार्मिक ग्रन्थ रामायणको घटनामा आधारित भएर रामायणकै घटनाका कथावस्तुलाई गीत बनाएर पुरुषको समूहले संयुक्त रूपमा गीत गाउँदै सामूहिक नृत्य गरिने गरेको उहाँ स्मरण गर्नुहुन्छ । बालन नृत्य लोप हुन र सङ्कटमा पर्नबाट बचाउन नयाँ पिँढीका युवालाई बालन नृत्यसम्बन्धी प्रशिक्षण दिनुपर्नेमा जोड दिइएको छ ।