• ६ चैत २०८०, मङ्गलबार

अस्पतालले स्वास्थ्य बीमाको रकम पाएन

blog

बनेपा समाचारदाता 

बनेपा, असार ४ गते । काभ्रेको धुलिखेल सामुदायिक अस्पतालले नेपाल सरकारले स्वास्थ्य बीमा उपचारबापतको रकम भुक्तानी नदिँदा अस्पताल सञ्चालनलगायतका गतिविधिमा समस्या भएको जनाएको छ ।

अस्पतालले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल सरकारबाट स्वास्थ्य बीमाबापतको रकम भुक्तानीमा ढिलाइ हुँदा अस्पताल सञ्चालन तथा कर्मचारीको तलब तथा औषधिलगायतका विभिन्न सामग्री खरिद गर्न नसकिएको जनाएको हो । 

अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश माकजु श्रेष्ठले अस्पतालले नेपाल सरकारले अघि सारेको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बिरामीको उपचार सुविधा प्रदान गरे पनि सरकारबाट समयमा नै रकम भुक्तानी नपाउँदा समस्या भएको बताउनुभयो । उहाँले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत नेपाल सरकारबाट करिब २५ करोड रुपियाँ रकम भुक्तानी नहुँदा समस्या भएको बताउनुभयो । 

“कोभिड १९ का कारण अस्पतालमा बिरामीको चाप घट्यो, हामी कोभिड व्यवस्थापनमा नै लाग्यौँ, अस्पतालको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको स्कुल अफ मेडिकल साइन्सेजअन्तर्गत बिरामीको भर्नासमेत नभएको र अस्पताल सञ्चालन गर्ने कुनै आम्दानी नभएका कारण हामी थप समस्यामा परेका हौँ,” प्रशासकीय निर्देशक डा. श्रेष्ठले बताउनुभयो । 

उहाँले धुलिखेल अस्पतालले धुलिखेलमा रहेको मुख्य अस्पतालमा बीमाका बिरामीको चाप कम गर्न १८ वटा ‘आउटरिच सेन्टर’मा उपचार गराउने अभ्यास गर्दा स्वास्थ्य बीमा बोर्डले त्यहाँ गरिएको उपचारको भुक्तानी नपाउने बताएका कारण धुलिखेलमा झनै बिरामीको सङ्ख्या बढेको बताउनुभयो । 

धुलिखेल अस्पतालले एक लाख २८ हजार २४५ बिरामीको बीमा रकम आउन बाँकी रहेको जनाएको छ । अस्पताल व्यवस्थापन समितिको मङ्गलबार बसेको बैठकले बीमा बोर्डमार्फत पाउनुपर्ने रकम आगामी १५ दिनभित्र नपाएमा बीमा सेवा आंशिक रूपमा उपलब्ध गराउने र असार मसान्तसम्म भुक्तानी नपाएको खण्डमा बाध्यतावश साउन १ गतेदेखि बीमा सेवालाई निरन्तरता दिन नसकिने जनाएको छ । अस्पतालले अस्पतालमा दैनिक उपचारका लागि आउने करिब एक हजार तीन सय बिरामीमध्ये करिब नौ सय बिरामी बीमाबाट उपचार गराउने रहेको जनाएको छ ।