• ६ चैत २०८०, मङ्गलबार

वैकल्पिक ऊर्जाप्रति आकर्षण बढ्यो

blog

यादवराज पुरी 

रौतहट, असार ४  गते । रौतहटका अधिकांश पालिकामा पूर्ण तथा आंशिक रूपमा विद्युतीकरण भइसके तापनि ग्रामीण भेगका मानिस वैकल्पिक ऊर्जाप्रति आकर्षित भएका छन् । 

विद्युतीय शक्तिको उपभोगमा लाग्ने खर्चभन्दा कममा वैकल्पिक उर्जाबाट प्राप्त विद्युतीय सेवा उपभोग गर्न पाइने भएपछि उनीहरू वैकल्पिक उर्जाप्रति आकर्षित भएका हुन् । नेपाल विद्युत् प्राधिकरण शाखा गौरका अनुसार रौतहट जिल्लाको १८ वटै पालिकामा विद्युतीकरण भइसकेको छ । यसरी विद्युत् सेवा उपलब्धसमेत भइसकेको अवस्थामा पनि जिल्लाको ग्रामीण भेगका नागरिकले वैकल्पिक उर्जाको रूपमा रहेको सोलार, इन्भर्टर, गोबरग्यास (बायोग्यास)लगायतका प्लान्ट जडान गरी उर्जा सेवा उपभोग गरिरहेका छन् ।  

सामुहिक गोबर ग्यास कम्पनी चन्द्रनिगाहपुरका अनुसार रौतहटमा करिब तीन हजार घर परिवारले गोबर ग्यास प्लान्ट राखेका छन् । विशेषगरी गोबरबाट उत्पादित ग्याँस खाना पकाउनमा प्रयोग गरिएको पाइएको छ । कम्पनीका अध्यक्ष देवकी नेपालले गत वर्ष मात्रै जिल्लाको उत्तरीक्षेत्रमा एक सयभन्दा बढी घर परिवारले गोबरग्यास जडान गरेको बताउँदै यस वर्ष दुई सयको हाराहारीमा पुग्ने जानकारी दिनुभयो । गोबर ग्यास प्लान्ट बनाउनको लागि सरकारले प्रति परिवार दस हजार चार सय रुपियाँ अनुदान दिँदै आएको उहाँले बताउनुभयो । 

सरकारी अनुदानको उपभोग गर्दै जिल्लाका उत्तरी भेगका नागरिक बढी मात्रामा गोबर ग्यासतर्फ आकर्षित भएको जानकारी दिँदै अध्यक्ष नेपालले गोबर ग्याँसको लागि गोबरको आवश्यकता पर्ने हुँदा उत्तरी क्षेत्रका बासिन्दा पशुपालनमा समेत सक्रिय रहेको बताउनुभयो । 

चन्द्रपुर नगरपालिका–५, चिडियादहका मधु पौडेलले एकातिर सरकारी अनुदानमा प्लान्ट जडान हुने अर्कोतिर खाना पकाउनमा विद्युत्शक्ति, दाउरा तथा सिलिन्डर ग्यासभन्दा अत्यधिक सस्तो र किफायती हुने हुँदा गोबर ग्यास प्लान्ट जडान गरेको बताउनुभयो । यसैगरी जिल्लाको दक्षिणी भेगमा कमै मात्रामा गाई बस्तु पालिने हुँदा उनीहरूको आकर्षण भने सोलारतर्फ बढेको धौलागिरी सोलार इनर्जी शाखा कार्यालय चन्द्रनिगाहपुरका प्रबन्धक जयनारायण पौडेल बताउनुहुन्छ । 

उहाँका अनुसार लक्ष्मनियाँ गाउँमा चार सय घरमा सोलार जडान गरिएको छ । सरकारले पहाडी जिल्लामा वैकल्पिक उर्जाका रूपमा वितरण गरिएको सोलारमा अनुदान प्रदान गरेको तर तराईको अनुदानमा कटौती गरिए पनि सोलार प्यानल राख्नेहरूको सङ्ख्या बढ्दो रहेको प्रबन्धक पौडेल बताउनुहुन्छ ।

सरकारले तराईमा पनि सोलार जडान गर्न अनुदान दिनुपर्ने स्थानीयको माग छ । विगतमा तत्कालीन जिल्ला विकास समिति रौतहटले वैकल्पिक ऊर्जा कार्यक्रमअन्तर्गत जिल्लाको ग्रामीण भेगका गरिब तथा दलित समुदायका चार सयभन्दा बढी घरधुरीमा सोलार टुकीहरू वितरण गरेको थियो । यसरी जिल्लामा वैकल्पिक उर्जाप्रति बढ्दो लोकप्रियतालाई दृष्टिगत गरी सरकारले यसमा अनुदान प्रदान गरे यसको लोकप्रियता अझै बिस्तार हुने सरोकारवाला बताउँछन् ।