मतदानबाट वञ्चित हुन नदिन आयोग सजग

 विराटनगर, पुस २४ गते । ‘निर्वाचन शिक्षा तथा सूचना विस्तार, स्वतन्त्र निष्पक्ष निर्वाचनको आधार’ मूल नाराका साथ निर्वाचन आयोगले आफ्ना कर्मचारीका लागि प्रशिक्षण सुरु गरेको छ ।

मतदाता परिचयपत्रमा भएका त्रुटि सच्याउन र मतदाताहरुको नाम सङ्कलनमा खटिने कर्मचारीलाई जवाफदेही र सजग बनाउन प्रशिक्षण सुरु गरिएको हो ।

निकट भविष्यमा हुने स्थानीय निर्वाचनलाई दृष्टिगत गर्दै निर्वाचन आयोगले दुईमहिने मतदाता नामावली सङ्कलन र अद्यावधिक कार्यक्रम सञ्चालन गरेको हो ।

सो अवसरमा निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आयोगका कारण कुनै पनि मतदातालाई मतदान गर्न पाउने अधिकारबाट वञ्चित हुन नदिइने स्पष्ट पार्नुभयो ।

उहाँले तस्बिरसहितको मतदाता परिचयपत्र लागू गरिएपछि निष्पक्ष र स्वतन्त्र निर्वाचनमा सहयोग पुगेको भएपनि नामावली सङ्कलन गर्ने क्रममा भएका सामान्य त्रुटिले धेरै मतदाताले मतदान गर्न नपाएको बताउनुभयो ।

तीन दिनसम्म चल्ने सो प्रशिक्षण कार्यक्रममा पूर्वाञ्चलका १२ जिल्लाका जिल्ला निर्वाचन अधिकारी र कम्प्युटर प्रविधिज्ञ सहभागी छन् । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना