प्रधानमन्त्रीसमक्ष नागरिक समाजद्धारा स्मरणपत्र

 

 


काठमाडौँ, कात्तिक २१ गते । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र नागरिक समाजका अगुवाले तराई मधेसमा देखिएको समस्याको समाधान वार्ता र संवादबाटै गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक स्मरणपत्र बुझाउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर आज उहाँहरुले तराई मधेसको आन्दोलन र भारतले नेपालमाथि जारी राखेको अघोषित नाकाबन्दी फरक–फरक विषय भएकाले त्यसलाई फरक कोणबाट हेर्नसमेत आग्रह गर्नुभएको छ ।

नेपाली जनतालाई राष्ट्रवादी र अराष्ट्रवादीको कित्तामा विभाजन गरेर नहेर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीलाई बुझाइएको सामुहिक स्मरणपत्रमा भनिएको छ, “देशमा एउटा पक्षलाई राष्ट्रवादी र अर्को पक्षलाई अराष्ट्रवादी भनेर विभाजन गर्ने सोचाइमा नै परिवर्तन गर्नु आवश्यक छ ।”
तराई मधेसको आन्दोलन चाँडो समाधान गर्न र नियन्त्रणभन्दा बाहिर जान दिन नहुने स्मरणपत्रमा अनुरोध गरिएको छ । स्मरणपत्र बुझाउनेमा पूर्व प्रधानमन्त्री डा भट्टराई, डा सुन्दरमणि दीक्षित, युग पाठक, खगेन्द्र सङ्ग्रौला, डा राजेश अहिराजलगायत हुनुहुन्छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले स्मरणपत्रको भावनाअनुसार अगाडि बढ्न सरकार तयार रहेको बताउनुभएको थियो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना