• ६ चैत २०८०, मङ्गलबार

चितुवाको आक्रमणबाट डोटीमा दुई जना घाइते

blog

चितुवाको आक्रमणबाट घाईते पार्वती बि.क. र लक्ष्मी बि.क. । तस्बिर : गणेश बम

डिलबहादुर सिंह

डोटी, असार ३ गते । डोटीको दिपायल सिलगढी नगरपालिका– ७ उडितोलामा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन् । शुक्रवार बिहान १० बजेतिर गाउँमा पसेको चितुवाको आक्रमणबाट स्थानीय ४५ वर्षीया पार्वती बि.क र पार्वती बि.ककी ३ वर्षीया छोरी लक्ष्मी बि.क घाइते भएका छन् । 

चितुवाले घरभित्र पसेर आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सहायक प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिनुभयो । चितुवा देखेर स्थानीय अर्का एक जना बेहोस भएको र अहिले उहाँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

चितुवाको आक्रमणमा पर्नुभएकी पार्वती बि.कको बायाँ हातको पाखुरा तथा टाउकोमा र छोरी लक्ष्मीको घाँटी र टाउकोमा चोट लागेको छ । घाईते दुबैको अवस्था सामान्य रहेको  जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । दिउँसै चितुवा गाउँमा पसेपछि स्थानीय त्रसित भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटी र डिभिजन वन कार्यालय डोटीको टोली घटनास्थलमा परिचालन भएको छ ।