• ६ चैत २०८०, मङ्गलबार

मकैमा फौजी कीराको प्रकोप, किसानहरु चिन्तित

blog

फौजी किराले असर गरेको मकै बोट

राजु लामिछाने/मुसीकोट समाचारदाता
रुकुम पश्चिम, असार ३ गते ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका क्षेत्रमा लगाइएका मकै खेतीमा फौजी कीराको प्रकोप देखिएको छ । मकैका बोटलाई फौजी कीराले नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् ।

खेतबारीमा लगाइएको मकैका बोटलाई कीराले नष्ट गरेको सानीभेरी गाउँपालिका–९ का किसान खिमबहादुर ओलीले बताउनुभयो । गाउँपालिकाका सबैतिरका मकै खेतीमा अचानक कीराले मकैका टुप्पा, पात खाएर क्षति गरेको उहाँले जानकारी दिनुभयो । हुर्कदै गएका मकैका बोटहरुमा क्षति पुगेपछि चिन्ता लागेको उहाँको भनाइ छ ।

सानीभेरी गाउँपालिका ७ की किसान अञ्जना नकालले उन्नत बीउ उत्पादनका लागि भनेर रोपेको मकैमा कीरा लागेको बताउनुभयो । फौजी कीराले सुरुदेखि नै मकैको बोटमा आक्रमण गरेकोले यस वर्ष उन्नत बीउ उत्पादनमा असर पर्ने जनाउनुभयो ।


सानीभेरी गाउँपालिका कृषि विकास शाखाका प्राविधिक सहायक विष्णुकुमार डाँगीले अमेरिकन फौजी कीराले मकैमा क्षति गरेको बताउनुभयो । ‘‘फष्टाउदै गएका मकैका बोटहरुमा फौजी कीराले असर गरेको छ,’’ प्राविधिक सहायक डाँगीले भन्नुभयो, ‘‘वर्षे सिजनमा लगाएका मकैमा बढी असर गरेको छ ।’ हिउँदमा लगाइएका मकैमा कीराहरुको प्रकोप कम देखिएको उहाँको भनाइ छ । ग्रामीण किसानको मुख्य पेशाको रुपमा रहेको मकैमा फौजी कीराले आक्रमण गरेर नष्ट गरेपछि किसानलाई हैरानी बढेको उहाँको भनाइ छ ।

फौजी कीराले मकैमा कोतरेर, खाएर नोक्सानी गरेको छ । समयमा नै यस कीराको पहिचान, प्रकोप र व्यवस्थापन नहुँदा चुनौतीपूर्ण रहेको प्राविधिक सहायक डाँगीले बताउनुभयो । सानीभेरीमा उन्नत जातको मकैको बीउ उत्पादन हुने गर्दछ । मकै खेतीको लागि उपयुक्त मानिएको यस क्षेत्रमा वैशाखदेखि जेठ महिनाको मौसममा वर्षे मकै लगाउने गरिन्छ । यहाँका कतिपय किसानले व्यावसायिक रुपमा  मकैको खेती गर्दै आएका छन् ।