• ६ चैत २०८०, मङ्गलबार

अल अस्मासको कारोबार रोक्का

blog

काठमाडौँ, असार ३ गते । वैदेशिक रोजगार विभागले काठमाडौँ अल अस्मास नामक वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीका सबै कारोबार रोक्का गरी अनुसन्धान थालेको छ । उक्त म्यानपावर कम्पनीले कुवेतको केएफसी कम्पनीमा रोजगारीमा पठाइदिने भन्दै मागपत्र प्रमाणीकरण नगरीकनै अन्तर्वार्ता लिएको पाइएपछि विभागको आकस्मिक अनुगमन टोलीले कारोबार रोक्का गरी कागजात नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो । 

म्यानपावर कम्पनीले विभागबाट पूर्वस्वीकृति नलिई विज्ञापनसमेत नगरी अन्तर्वार्ता लिइरहेको भन्ने सूचनाका आधारमा विभागले अनुगमन गरेको थियो । 

वैदेशिक रोजगार नीतिअनुसार गन्तव्य देशको रोजगारदाता कम्पनीबाट आएको मागपत्र सम्बन्धित देशको दूतावासले प्रमाणीकरण गर्नुपर्छ । दूतावासबाट प्रमाणीकरण भएको मागपत्रको विभागबाट स्वीकृति लिएर राष्ट्रियस्तरको दैनिक पत्रिकामा विज्ञापन सार्वजनिक गर्नुपर्छ । उक्त कम्पनीका सञ्चालक तेजेन्द्र महत र अनिता महतले माथिका कुनै प्रक्रिया पूरा नगरी अन्तर्वार्ता लिएको पाइएको छ । 

विभागको आकस्मिक अनुगमन टोली बुुधबार साँझ म्यानपावर कम्पनीमा पुग्दा उक्त म्यानपावरले ११० जना महिला र ४० जना पुुरुष गरी १५० जनाको छनोटका लागि भन्दै एक सयभन्दा बढीको अन्तर्वार्ता लिइसकेको कागजात फेला परेको थियो । 

विभागका निर्देशक संयोजक डम्बर सुनुवारले कुवेत केएफसी कम्पनीमा रोजगारीका लागि जान अन्तर्वार्तामा सहभागी स्थानीय एजेन्टमार्फत उक्त म्यानपावरमा पुगेको अनुुगमनका क्रममा पाइएको जानकारी दिनुभयो । उहाँका अनुसार रोजगारदाता कम्पनीबाट आएको माग तथा सरकारसँग पूर्वस्वीकृति गराएर मात्रै अन्तर्वार्ता लिनुपर्नेमा उक्त म्यानपावरले अन्तर्वार्ता लिइरहेको फेला परेको छ । 

विभागका निर्देशक सुनुवारले म्यानपावरले कानुनी प्रक्रियाविपरीत काम गरेको पाइएकाले उक्त म्यानपावरको सम्पूर्ण कारोबार बिहीबारदेखि नै रोक्का गरी थप कारबाहीका लागि कागजात नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । अनुगमनका क्रममा उक्त म्यानपावरले २०–२५ जनाको त स्वास्थ्य परीक्षण गराइसकेको फेला परेको छ । वैदेशिक रोजगार नीतिअनुसार अन्तर्वार्तामा सफल भएपछि मात्र स्वास्थ्य परीक्षण गर्न पठाउने व्यवस्था छ । 

सुनुवारले माग नै नआई अन्तर्वार्ता लिएको अल अस्मास कम्पनीलाई वैदेशिक रोजगार ऐनअनुसार कारबाही हुने बताउनुभयो । वैदेशिक रोजगार ऐनका अनुसार वैदेशिक रोजगार ऐनविपरीत काम गर्ने म्यानपावरको इजाजत रद्दसमेत हुन सक्ने उल्लेख छ ।