• ६ चैत २०८०, मङ्गलबार

पत्रकार महासंघ संस्थापक विषय चाँडो टुङ्गो लगाउन सुझाव

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार २ गते । नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षका विषयमा अझै वहस जारी रहेकाले त्यसको निक्र्यौल चाँडो गर्नुपर्ने धारणा सञ्चार सम्बद्ध संस्थाका नेतृत्व वर्गहरुले राख्नुभएको छ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिद्वारा विहीबार यहाँ आयोजित ‘आमसञ्चार प्रशिक्षण प्रतिष्ठान र नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँहरुले सो धारणा राख्नुभएको हो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले महासंघको विधानले २०१२ साल चैत १६ गतेको अविच्छिन्नतालाई मान्ने भएपनि संस्थापकका विषयमा अनुसन्धान र अध्ययनका लागि महासंघ खुला रहेको बताउनुभयो । तत्कालिन नेपाल पत्रकार संघ वि.सं. २००८ सालमा स्थापना भएको सही भएको र त्यतिबेलाका सभापति सत्यनारायणबहादुर श्रेष्ठ रहेको विभिन्न लिखत र दस्तावेजले प्रष्ट गरे पनि महासंघले अझै त्यसलाई स्वीकार नगरेको उहाँले प्रष्ट पार्नुभयो ।

संस्थापक अध्यक्षको विषयमा अध्ययन अनुसन्धान गर्न आवश्यक रहेकाले महासंघले त्यसका लागि यही कार्यकालमा अध्ययन समिति गठन गरी काम गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । इतिहासलाई बंग्याउने छुट कसैलाई नभएकाले अग्रजहरुको सम्मानमा कुनै कमी आउन नदिइने उहाँले बताउनुभयो । महासंघको विधानले संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईलाई मान्ने गरेपनि उहाँको कार्यकाल २०१२ सालबाट शुरुभएको चर्चा गर्नुभयो । 

फोनिजका निवर्तमान अध्यक्ष डण्ड गुरुङले इतिहासको सम्मान सबैले गर्नुपर्ने बताउनुभयो । महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ रहेको तथ्य सही भएपनि महासंघले अझै स्वीकार नगर्नु विडम्बनापूर्ण रहेको बताउनुभयो । संस्थापकको सम्मान नगरिए त्यसको कडा प्रतिवाद गरिने उहाँले चेतावनी दिनुभयो । महासंघ सबैको साझा संस्था भएकाले इतिहासको सम्मान नगरिए त्यसमा सबैको अपनत्वबोध नहुने उहाँले चर्चा गर्नुभयो । 

फोनिजका सल्लाहकार खिम घलेले संस्थापकको विषयलाई जति छिटो टुङ्गोमा पुगाउनसके त्यति सहज हुने बताउनुभयो । अहिलेसम्मको तथ्यले संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठलाई स्वीकार गरेकाले उहाँलाई मान्नुपर्ने उहाँको सुझाव छ । महासंघले स्वतन्त्र समिति गठन गरेर त्यस विषयमा अध्ययन प्रतिवेदन तयार गर्न सक्ने पनि उहाँले बताउनुभयो । कृष्णप्रसाद भट्टराईलाई संस्थापक मान्नुको कारणबारे अझै महासंघले प्रष्ट पार्न नसकेको उहाँले टिप्पणी गर्नुभयो । 

फोनिजका अध्यक्ष गजुरधन राईले संस्थापकको विषयमा महासंघले न्याय गर्नुपर्ने बताउनुभयो । संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ भएको लिखतले बोल्नेगरेकाले तथ्यलाई स्वीकार गरी अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो । आम सञ्चार प्रतिष्ठान गठनमा फोनिजको सहयोग रहने उहाँले प्रष्ट पार्नुभयो । 

प्रेस चौतारी नेपालका उपाध्यक्ष राजेश राईले अहिलेसम्मको सबै दस्तावेजले संस्थापकमा सत्यनारायणबहादुर श्रेष्ठलाई नै स्वीकार गरेकाले संस्थापक मान्नमा महासंघले अप्ठेरो मान्न नुहने बताउनुभयो । सत्यलाई स्वीकार नगर्ने हो भने इतिहास माथिको बेइमानी हुने भन्दै महासंघलाई त्यसबारेमा चाँडो निस्कर्षमा पुग्न आग्रह गर्नुभयो । पूर्व प्रधानमन्त्री भट्टराईप्रति सबै नेपालीको उच्च सम्मान रहेपनि संस्थापक अध्यक्ष उहाँ नरहेको उपाध्यक्ष राईले बताउनुभयो । 

नेपाल प्रेस युनियनका उपाध्यक्ष ईश्वरी ओझाले नेपाली पत्रकारिता र राजनीतिक क्षेत्रमा कृष्णप्रसाद भट्टराई परिवारको उच्च योगदान रहेकाले सम्मान गर्नुपर्ने बताउनुभयो । तत्कालिन नेपाल पत्रकार संघ वि.सं. २००८ सालमा गठन भएपनि त्यसको निरन्तरता नभएका कारण भट्टराईले आफ्नो नेतृत्वमा २०१२ सालमा पुनः संघ गठन गरेको उहाँले दावी गर्नुभयो । यद्यपि संस्थापकको विषयमा अध्ययन र छलफल गर्न युनियन तयार रहेको उहाँले बताउनुभयो । 

प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटाले महासंघ संस्थापक विषयमा चाँडो टुङ्गो लगाउन आवश्यक रहेको बताउनुभयो । महासंघ गठनको लामो इतिहास नरहेकाले अध्ययन गरेर छिनोफानो लगाउन सहज रहेको उहाँले बताउनुभयो । आम प्रशिक्षण प्रतिष्ठान गठनको तयारीमा सरकार भएपनि त्यसमा कृष्णप्रसाद भट्टराईको नाम नजोडेर प्रतिष्ठान गर्न सकिने उहाँले बताउनुभयो । तथ्यलाई सबैले स्वीकार गर्नुपर्ने भन्दै उहाँले सत्यनारायणबहादुर श्रेष्ठको योगदानको अबमूल्यन पनि कसैले गर्न नहुने उहाँले सुझाव दिनुभयो ।

क्रियाशील महिला पत्रकार (डब्लुडब्लुजे) का अध्यक्ष संगीता लामाले लिखतमा संस्थापक अध्यक्ष श्रेष्ठ भएको स्पष्ट रहेकाले त्यस विषयमा थप अध्ययन गरेर टुङ्गोमा पुग्न ढिलाई गर्न नहुने बताउनुभयो । ऐनको रुपमा अघि बढेमा करेक्सन गर्न झन समस्या हुनेभन्दै उहाँले संस्थापक विषय छिटो निक्र्यौल गर्नुपर्ने सुझाव दिनुभयो ।

सञ्चारिका समूहका अध्यक्ष विमला तुम्खेवाले संस्थापकको विषय गम्भीर विषय भएकाले अध्ययन गरेर निस्कर्षमा पुग्नुपर्ने बताउनुभयो । अहिलेसम्म विभिन्न दस्तावेजले श्रेष्ठलाई नै संस्थापक अध्यक्ष रहेको उल्लेख गरेकाले तथ्यलाई स्वीकार गर्नुको विकल्प नहुने बताउनुभयो ।

फोनिजका अध्यक्ष गजुरधन राईको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले संस्थापक वहस विषयको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा फोनिजमा आवद्ध जातीय पत्रकार संघका पदाधिकारी, सदस्य तथा सञ्चार सम्बद्ध संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । 

तत्कालिन नेपाल पत्रकार संघको स्थापना श्रेष्ठको सभापतित्वमा २००८ मा भएको थियो । उहाँ २००९ सालमा पुनर्गठन भएको संघमा पनि पुनः सभापतिको जिम्मेवारीमा आउनुभएको थियो । पत्रकार भट्टराई २०१२ साल चैत १६ गते पुनर्गठित संघको सभापति हुनुभएको थियो । उहाँ पछि देशको प्रधानमन्त्री पनि हुनुभयो ।