• ६ चैत २०८०, मङ्गलबार

बाघको आक्रमणबाट एक युवतीको मृत्यु, बाघ धपाउन पाँच राउण्ड हवाई फायर

blog

फाइल तस्बीर

शान्ता अधिकारी

चितवन, असार २ गते । भरतपुर महानगरपालिका २७ स्थित राधा कृष्ण मध्यवर्ती सामुदायिक बनमा निगुरो टिप्न भनी गएको अवस्थामा एक युवतीलाई बाघले आक्रमण गरी मारिदिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार बिहीबार बिहान ७ बजेको समयमा साथीहरुसँग निउरो टिप्न भनी गएकी चितवन भरतपुर महानगरपालिका २७ बस्ने वर्ष २३ कि रेखा बस्नेतलाई बाघले आक्रमण गरी जङ्गलतर्फ लगेको हो । 

उहाँसँग गएका साथीहरुले दिएको सूचनाको आधारमा इप्रका दिव्यनगर इप्रका फूलबारी चितवनको टोलीसहित र खड्गदल गण मेघौलीबाट नेपाली सेनाको मेजरसहितको टोली खोजीमा जाँदा बाघले आक्रमण गरेको भनिएको स्थानभन्दा तीन सय मिटर जङ्गलतर्फ ती महिलालाई खाइरहेको अवस्थामा भेटिएको र सेनाले पाँच राउण्ड हवाई फायर गरेर बाघबाट लाश छुटाएर ल्याएको हो ।

प्रहरीका अनुसार युवतीको टाउको र छातीको भाग बाघले खाइसकेको अवस्थामा शव फेला परेको छ । घटनास्थल तथा लाश जाँच मुचुल्काको कार्य भइरहेका प्रहरीले जानकारी दिएको छ । बाघबाट मारिएकी महिला पूर्व म्यादी प्रहरीसमेत भएको प्रहरीले पुष्टि गरेको छ ।

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रबाट निस्किएको बाघको आक्रमणमा परी बितेको एक महिनाको अवधिमा मारिने यी चौथो महिला हुन् । यसअघि जेठ ८ गते भरतपुर १३ बाटुली पोखरी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा भरतपुर १३ की फुलकुमारी बोटे, राप्ती नगरपालिका १ निकुञ्ज क्षेत्र नजिकै जङ्गलबाट घाँस काटन गएकी सेतीमाया तामाङ र जेठ २३ गते घैलाघारी मध्यवर्ती सामुदायिक वन क्षेत्रका गएकी मंगली बोटे बाघको आक्रमणबाट निधन भएको थियो ।