इन्धन अभावका कारण स्वर्गद्वारीको बाटो निर्माण ठप्प

प्यूठान, कात्तिक १७ गते । इन्धन अभावका कारण प्रसिद्ध तीर्थस्थल स्वर्गद्वारीको सडक सुधार आयोजना पछिल्लो एक महिनादेखि ठप्प भएको छ । त्रिवर्षीय आयोजनाअन्तर्गत भिगृ–स्वर्गद्वारी १३ किमी सडक सुधार तथा निर्माण कार्य पूर्ण रुपले बन्द भएको सडक डिभिजन कार्यालय जस्पुर प्यूठानले जनाएको छ ।

इन्धन अभावले निर्माण सामग्रीको ढुवानी तथा निर्माणमा प्रयोग हुने स्काभेटरलगायत साधन सञ्चालनमा समस्या हुँदा निर्माण कार्य रोकिएको सडक डिभिजन प्रमुख घनश्याम गौतमले बताउनुभयो । “इन्धन अभावका कारण देखाउँदै ठेकेदार पक्ष पनि पछिल्लो एक महिनादेखि निर्माण सामाग्री सडक मै छाडी सम्पर्कविहीन भएको छ,” गौतमले भन्नुभयो – “गत वर्षपनि निर्माण सम्झौता भएको समयभित्र सडकको निर्माण कार्य पूरा नहुँदा समस्या भएको थियो ।

इन्धन अभाव र ठेकेदारको लापरबाहीले यस वर्षपनि सडक पूर्ण सुधार नहोला भन्ने देखिएको छ ।” बहुवर्षीय सडक सुधार आयोजनाअन्तर्गत भिगृ–स्वर्गद्वारी सडकको पछिल्लो तीन आवदेखि सुधार तथा निर्माण कार्य जारी रहेको छ । बहुवर्षीय आयोजनाको पहिलो आवमा काम नै नभएको भन्दै जिविसमार्फत भिगृ–स्वर्गद्वारी सडक उपभोक्ता समितिका अध्यक्ष तथा स्थानीयवासी ईश्वरी रेग्मीले ठेकेदार पक्षको लापरबाहीले समयमै काम नभएको आरोप लगाउनुभयो । रेग्मीले भन्नुभयो – “सडकमा अहिलेसम्म २०६५ सालदेखि वार्षिक रु तीन करोडसम्मको लगानी हुँदै आएको छ ।

तर सडक निर्माणमा विशेष ध्यान नजाँदा सडकको अवस्था उस्तै छ ।” सडकमा बर्खा र हिउँदको समयमा पनि यातायात सञ्चालनका लागि यस आवमा पहल गरिएको तर काममा ढिलाइ र ठेकेदारको लापरबाहीले समस्या आएको डिभिजन कार्यालयले जनाएको छ । “गत वर्ष काम नहँुदा ठेक्का नै तोड्ने चेतावनी दिएपछि काम भएको थियो,” भिगृका समाजसेवी टेकराज भण्डारीले भन्नुभयो – “यस पटक फेरि इन्धनको समस्या हुँदा निर्माणमा समस्या देखिएको छ ।”

सडक सुधारका लागि भन्दै यस आवमा रु एक करोड ५० लाखको बजेट अख्तियारी आएको डिभिजन कार्यालयले जनाएको छ । गत वर्ष सुधार आयोजनाअन्तर्गत सडकको एक किलोमिटरभन्दा लामो ट्र्याक निर्माण गरिएको थियो । डिभिजन प्रमुख गौतमले सोही आयोजनाअन्तर्गत यस वर्ष सडकको छेउमा पर्खाल उठाउने, घुम्ती मिलाउने कार्य जारी रहेको बताउनुभयो । त्रिवर्षीय सुधार आयोजना यस आवमा पूरा गर्ने लक्ष्य रहेको छ । यसैबीच, सडकको सुधारसँगै जिल्लाबाट केन्द्रमा डिभिजन कार्यालयले रु ४२ करोडको बजेट माग गरेपनि बजेट नपर्दा समस्या भएको छ । डिभिजन कार्यालयले भने चालु आवको अन्तिम समयसम्ममा सडक सञ्चालनमा ल्याउने दाबी गरेको छ ।

रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना